बिर्तामोड ।

 विगतमा दुर्गा माध्यमिक विद्यालय गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु भएको छ । राजवंशी परिवारको घर निर्माणका लागि बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरेकी हुन् । 

 करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।

उनले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरु आफूले व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गरेका छन् ।

 त्यस्तै वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले आफूले गर्नुपर्ने सहयोग गर्ने बताए भने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आवश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गरे ।

 सोही अवसरमा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले ३० बोरा र कालीमाता मठ मन्दिर समितिले २० बोरा सिमेन्ट सहयोग गरेका छन् । ती सिमेन्ट मन्दिर समितिका काजी बुढाथोकी, रविन बुढाथोकी, गणेश उप्रेतीले हस्तान्तरण गरेका थिए । उजारु राजवंशी भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्यले पनि सहयोग गर्ने बताएका छन् । 

कार्यक्रममा वडा सदस्य सल्पना राजवंशी, राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले घर निर्माणको आबश्यकताका बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन  सदस्य सरोज पौडेलले गरेका थिए ।

घर निर्माणका लागि सहयोग गर्न सबै सहयोगी हातहरुलाई आग्रह गर्दै त्यसका लागि लुम्बिनी विकास बैंकको बिर्तामोड शाखामा उजारु राजवंशी भवन निर्माण समितिको खाता नं ०७२००१२०२४२१५८०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिएका छन् ।