• उद्धव पुरी 

बिर्तामोड । 

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपन झल्किने किसिमको हुने पर्ने बताएका छन् । मन्त्री किरातीले विदेशीको नक्कल गरेर ठूल–ठूला टावर तिर नजान आग्रह गर्दै नेपालको पर्यटनमा नेपालीपन देखिने खालको हुनु पर्नेमा जोड दिएका हुन् । नेपालको पर्यटन सांस्कृतिक पहिचान झल्किने खालको जुन एउटा क्षेत्रमा घुम्दा सिङ्गो नेपाल देखिने हुनु पर्ने बताएका छन् । नेपाली पनको पर्यटन क्षेत्र हुँदा मात्र विदेशी पर्यटक नेपाल आउने उनको भनाई छ । 

‘नेपालमा ब्यापक पर्यटनको सम्भावना छ’ मन्त्री किरातीले भने ‘तर, पर्यटन नेपाली पनको नेपालको इतिहास बोकेको हुनुपर्छ ।’ झापाको बिर्तामोडमा मंगलबार (आज) नेकपा (माओवादी केन्द्र) झापाद्धारा आयोजित भेटघाट कार्यक्रममा मन्त्री किरातीले सरकारलाई असफल हुने छुट नभएको बताए । उनले अहिले समग्र राजनीतिक स्थिरता, आर्थिक संकट र समाजमा देखिएको अराजकताले नागरिक आक्रान्त बनेको बताए । 

‘समस्याको चाङ छ, समाधान मात्र होइन विकास पनि गर्नुछ, अहिले हामीलाई धेरै भाषणभूषण होइन, परिणाम चाहिएको छ’ मन्त्री किरातीले भने ‘परिणाम बाहेक जनतालाई चिल्लो, मिठो र गुलियो कुराको आवश्यकता छैन, परिणामका निम्ति हामी सवै लाग्नु पर्नेछ ।’  

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा गरेको भाषण र सचिवालयलाई दिएको निर्देशनको आधारमा नेपाल सरकारले एकीकृत कार्ययोजना बनाउँदै गरेको बताए । मन्त्री किरातीका अनुसार त्योे कार्य योजनामा धेरै कुरा छन् र जनतासँग जोडिएका सुशासनका कुराहरु पनि छन् । विदेशी पर्यटकहरु नेपाल आउँदा भोग्नु पर्ने झन्झटिला कुराहरु र सारा पर्यटन ब्यवसायमा देखिएका समस्या पनि त्यसमा समेटिएको उनको भनाई छ । मन्त्री किरातीले एकीकृत कार्ययोजना लागू भएपछि देशमा सुशासनको प्रत्याभूति, विधिको शासन र अराजकताको अन्त्य हुनेमा ढुक्क रहेको बताएका छन् । 

उनले धार्मिक, सांस्कृति र पर्यटन सम्बन्धी कार्ययोजना एउटा वडा तथा एउटा पालिकाको मात्र नभएर सिङ्गो झापा जिल्लाको बनाएर चैत्र २५ गतेभित्र मन्त्रालयमा पठाए रातो किताबमा राख्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । 

kirati

मन्त्री किरातीलाई अर्जुनधारा जलेश्वरधाम, हलुवागढ पर्यटकीय क्षेत्र, हचुमासा सामुदायिक बन, शान्ति सामुदायिक बन, फाल्गुनन्द मिङ्सो माङ्गीम ब्यवस्थापन समिति, जुकेखाडी सामुदायिक बन, सुखानी आधुनिक मलामी टहरालगायतले आ–आफ्नो कार्ययोजना ज्ञापन गरेका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य झलकसिंह दर्लामी, केन्द्रिय सदस्य रन्जित तामाङ, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, नेता हरिकुमार राना, माओवादी केन्द्रका प्रदेश, झापा जिल्ला र बिर्तामोड नगरका नेता तथा कार्यकर्तालगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र झापा संयोजक राजु आचार्य (अग्नि) ले गरेका थिए ।