चारपाने ।
झापाको बिर्तामोड नगरपालिका २ स्थित प्रभु राम चौकमा फागुन ५ गतेबाट शरु भएको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा आउने दर्शकलाई मेलाको छुट्टै रौनकता प्रदान गरिएको छ । महोत्सवमा आउने अवलोकन कर्तालाई एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।
‘रंग छिटो खाँदा मिठो’ भन्ने नारासहित अर्जुनधारा – ६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै मेजमान नामक चिया बितरण गरिरहेको छ ।
नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायी चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराएका हुन् । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराउन थालेसंगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गर्न शुरु गरेका छन् ।
मिसावट रहित विना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागीताका लागि आएकाहरुले समेत नेपालको चियाको चुस्की लिँदै रमाईरहेका छन् ।
महोत्सवमा छुट्टै स्टल राखेर कार्कीले एक रुपैयाँमा चिया विक्री गर्दै आफ्नो चियाका उत्पादन समेत विक्री गरिरहेका छन् । उनी आफूले उत्पादन गरेको चिया खरिद गरे कसैलाई पनि खाली हात नपठाउने बताउँछन् । उनले चिया खरिद कर्तालाई कुनै न कुनै आकर्षक उपहार प्रदान गर्ने बताइएको छ । त्यस्तै तीन केजी भन्दा माथि चिया खरिद गरेको खण्डमा लक्की ड्र मा सहभागी गराने र मेलाको अन्तिम दिन एक जना भाग्यशाली ग्राहकलाई बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्हो प्रदान गर्ने योजना बनाएका छन् ।
कोभिडपछि देशको अर्थतन्त्र नै सुस्ताएको र व्यवसायी समेत समस्यामा परिरहेका बेला यहाँको आर्थिक अबस्थालाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सस्तो दरमा सामाग्री उपलब्ध गराएर अवलोकन कर्ताहरुको मन जित्ने प्रयत्न गरिएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
विभिन्न औपचारिक कार्यक्रमका साथै साङ्गितिक प्रस्तुतिका साथ शुरु भएको महोत्सवको अवलोकन गर्न विभिन्न जिल्लाबाट अवलोकन कर्ताको आगमन शुरु भएको छ भने भारत लगायतका तेस्रो देशबाट समेत अवलोकन कर्ताहरु आउनु शुरु गरेको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।


















