• चन्द्र बस्नेत 

कनकाई । 

झापाको कनकाईमा जारी झापा जिल्ला स्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा दमक र सालबारी बीच प्रतिष्पर्धा हुने भएको छ । झापाको कनकाई माविको खेल मैदानमा हुने प्रतियोगितामा दमक र सालबारी बीच शुक्रबार (आज) दिनको २ः३० बजे हुने आयोजकले जनाएको छ ।

त्यस्तै हिजो भएको दोस्रो दिनको खेलमा जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले जीत हासिल गरेको छ । कनकाई माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको दोस्रो दिन बाह्रदशी महिला फुटबल क्लवसँग भएको प्रतिस्पर्धामा ५–० गोलको फराकिलो अन्तरले खुदुनाबारीले जीत हासिल गरेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए।

खुदुनाबारीका लागि रचना राईले र कंचन बिमलीले २–२ गोल गरे भने आशिका राईले थप १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकि थिइन्। खेलको प्लेयर अफ द म्याच विजयी टिमकी वर्षा मगर घोषित भइन् ।

यस पटकको सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले संचालन गरेको हो । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ मूल नारा लिएर २०७१ सालमा स्थापित प्रतिष्ठानले वार्षिक रुपमा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता संचालन गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुने र समापन समारोहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य रहने सचिव  मान्ता खरेलले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कनकाई नगरपालिकाको प्रमुख आर्थिक सहयोग  र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने अध्यक्ष थपलियाले  जानकारी दिए।