बिर्तामोड ।
लायन्स क्लब अफ गोल्डेन ड्रिम बिर्तामोडले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित समावेशी टोलको बालकल्याण आधारभूत बिद्यालयको भवन रंगरोगन र मर्मत सम्भार गरेर बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
ड्रिम बिर्तामोडले शुक्रवार (आज) एक कार्यक्रमकाबिच संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयको भवन रंगरोगन र मर्मत सम्भार र एउटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । गोल्डेन ड्रिम बिर्तामोडकी अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने डिस्ट्रिक फष्ट लेडी रेखा गुरुङको बिशेष आतिथ्य रहेको थियो । स्वागत लायन्स क्लब अफ गोल्डेन ड्रिम बिर्तामोडकी उपाध्यक्ष दिपा ओलीले गरेको कार्यक्रमको सञ्चालन सचिव बिनिता लामाले गरेकी थिइन् ।

सोही गोल्डेन ड्रिम बिर्तामोडका सदस्यहरु सानी घिमिरे, जमुना अर्याल र हेलन कडरियाको जन्मोत्सवमा बिद्यालयका एकसय ५० जनाबढी बिद्यार्थीलाई कापी समेत वितरण गरिएको थियो । सामुदायिक उक्त बिद्यालयमा रंगरोगन नभएको देखेर लायन्स क्लब अफ गोल्डेन ड्रिम बिर्तामोडले बिद्यालय भवनलाई मर्मत सम्भारसहित एउटा शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । लायन्स क्लब अफ गोल्डेन ड्रिम बिर्तामोडले करिब २ लाख ५० हजार रुपैयाँ बराबरको रंगरोगन तथा मर्मतसम्भार र शौचालय निर्माण गरेर १५ दिनमा हस्तान्तरण गरेको जनाईएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ गोल्डेन ड्रिम बिर्तामोडका पदाधिकारी तथा सदस्य जनप्रतिनिधि, स्थानीय समाजसेवी, बिद्यालयका शिक्षकशिक्षिका तथा कर्मचारी र अभिभाबकको बाक्लो उपस्थिति रहेको थियो । नर्सरीदेखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको बिद्यालयमा एकसय ८६ जना बिद्यार्थी अध्ययनरत रहेको साथै ९ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेको बिद्यालयका प्रधानाध्यापक डम्बर यादबले जानकारी दिए ।

















