बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजमा डेरामा बस्दै आएका तीनजनालाई प्रतिबन्धित लागू औषधसहित प्रहरीले  पक्राउ गरेको छ । 

अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कको प्रहरी टोलीले शनिवार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं. ९ का अन्दाजी २१ बर्षिय प्रेमसागर सावा, मेचीनगर नगरपालिका वडा नम्बर १२ का अन्दाजी २० बर्षिय मनिष बराल र मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ की अन्दाजी १९ बर्षिया तिलु राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।