सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ । नगरमै पहिलो महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेटभन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । कार्यक्रमका बीच कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले महिला मार्गको उद्घाटन गरेका छन् । 

सडक उद्घाटन गर्दै कनकाई नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा धेरै बाटो बनेपनि महिलाको नेतृत्वमा बनेको यो पहिलो बाटोभएको बताए । ‘महिला दिदीबहिनीहरुले धेरै राम्रो काम गर्नुभएको छ’ उनले भने ‘उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।’

लागत सहभागितामा धेरै कम योजना आउने गरेको र स्थानीयको विकास निर्माणमा उपभोक्ताको सहभागिता जरुरी रहेको उनको भनाइ छ । हरेक नगरबासीले नगरको विकासमा हातमा हात दिएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । धेरै अनुदान र बजेट कटौति हुँदा कतिपय निर्धारित योजनाहरु रोक्नुपर्ने अवस्था रहेको समेत नगरप्रमुख पोखरेलले बताएका छन् ।

आर्थिक वर्ष २०७९÷०८० को योजना अन्तरगत कनकाई–३ रिङरोड उत्तरतर्फ गाई फारम जाने सडक कालोपत्रे गरिएको हो । उक्त सडक निर्माणका लागि  ८९ लाख ७८ हजार ४९७ रुपैयाँ लागत स्टिमेट तयार पारिए पनि महिला उपभोक्ता समितिले ७७ लाख ७७ हजार ९५ रुपैयाँमा सडक निर्माण सम्पन्न गरेको समितिकी सचिव कमला अधिकारीले जानकारी दिइन् ।

‘बाटो बनाउन शुरुमा असहज भएपनि काम गर्दै जाँदा हुँदो रहेछ’ उनले भनिन् ‘काम सम्पन्न भएपछि सबैले राम्रो गर्नुभयो भन्ने प्रतिक्रिया दिइरहेका छन् ।’ नगरपालिकाको ७० प्रतिशत र स्थानीयबासीको ३० प्रतिशत लागत सहभागितामा २८ फिट चौडाइ रहेको सडकमा २४ फिट कालोपत्रे गरिएको छ । त्यस्तै सडकको दुवैतर्फ प्लम निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष रेवता चापागाईंले जानकारी दिइन् ।

कार्यक्रममा उभोक्ता समितिले आय–व्यय समेत सार्वजनिक गरेको छ । महिला मार्गमा नगरपालिकाको ६० लाख ९१ हजार ४७३ रुपैयाँ र स्थानीयबासीको १६ लाख ४८ हजार रुपैयाँ लगानी भएको छ । सडक निर्माण सम्पन्न हुँदा ३२ हजार ६६२ रुपैयाँ ऋण लागेको समितिले जनाएको छ ।

उपभोक्ता समितिकी अध्यक्ष रेवता चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर पोखरेलको प्रमुख आतिथ्य तथा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको बिशेष आतिथ्य रहेको थियो । 

स्वागत सुश्मिता बास्तोलाले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश उपभोक्ता समिति अध्यक्ष चापागाईले पारेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख पोखरेल, वडाध्यक्ष चम्लागाई, उपभोक्ता समितिको तर्फबाट रंगलाल दाहाललगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उपभोक्ता समिति सचिव कमला अधिकारीले गरिेकी थिइन् । 

कार्यक्रम कृष्णमाया भुजेल, खेमनाथ मिश्र, गोकर्ण ओझा, नन्दकुमारी दाहाल, प्रेमकला राई, बालिका चम्लागाई, सुमित्रा सुवेदी, देबी हिङमाङ, गोपाल कोइराला, गंगाराम प्रसाईलगायको उपस्थिति रहेको थियो ।