मेचीनगर । 

झापाको मेचीनगरमा भएको एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदन बस्तीमा मुख्य कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका हुन् ।

मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र शौलियतमा मेची नेत्रालयले अप्रेसन गरिदिने संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।

आँखा शिविरमा हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंले दुई सय जनालाई जाँचको आधारमा निःशुल्क चश्मा वितरण गरेको थियो । त्यस्तै स्थानीय सावित्रा मेडिकल हलले पनि आँखा शिविरमा उपस्थित सबैको निःशुल्क ब्लड प्रेशरलगायतको स्वास्थ्य जाँच गरेको थियो ।

आराध्य साकोसकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा भएको आँखा शिविरको उद्घाटन मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले गरेका थिए ।

संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत स्थानीय टोलविकास समितिका अध्यक्षलगायतको आतिथ्यता भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए ।