बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा शुक्रवार (आज) भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् ।

३५ जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोग व्याधसंग लड्ने शक्तिप्राप्त औषधी निःशुल्क वितरण गरिएको छ । बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेका कारण आयुर्वेदिक चुर्ण वितरण गरिएको कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना जेष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ वडा नम्बर १ का ८९ वर्षिय जयप्रसाद खरेल र ८७ वर्षिय खगप्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधि प्रेमकुमार खरेल, वडा सचिब टिका अधिकारीको पनि उपस्थिति रहेको थियो ।