झापा । 

झापामा विदेशबाट फर्किएका ६ जनामा औलो रोगको संक्रमण देखिएको छ । २०७९ साउन यता औलोबाट संक्रमित हुने सबै ६ जना विदेशबाट आएका हुन् । झापामा मेचीनगर र कचनकवलमा दुई–दुई जना तथा बुद्धशान्ति र दमकमा एक–एक जना औलो रोगी फेला परेका छन् । 

केही दिनअघि युगान्डाबाट फर्केका बुद्धशान्ति २ जयपुरका ३० वर्षिय पुरुषमा औलो पुष्टि भएको थियो । बिर्तासिटी हस्पिटल बिर्तामोडमा परीक्षण गराउँदा बैशाख ७ गते उनलाई औलो पुष्टि भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए । उनी २०२२ फेब्रुअरी १३ मा युगान्डा गएका थिए भने २०२३ अप्रिल ५ मा नेपाल फर्केका थिए । त्यस्तै दिल्ली, सुडान, तेलिभिट्टा बिहार, किसनगञ्ज बिहार र मुम्बई महाराष्ट्रबाट फर्केका ५ जनालाई औलो संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा कोशी प्रदेशका ७ सहित नेपालभर ४९१ जना औलो रोगी फेला परेका थिए । जबकि चालू आर्थिक वर्षको करिव १० महिनामै झापामा मात्र ६ जना औलो रोगी फेला परिसकेका छन् ।

यसबाट झापामा औलो रोगको प्रकोप बढेको देखिएको छ । औलो रोगको निदान तथा उपचारका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध रहेको छ ।

हरेक औलो बिरामी तथा जोखिम क्षेत्रको १, ३, ७ पद्दति अनुसार खोजपड्ताल गर्ने जोखिम क्षेत्रहरुमा नियमित रुपमा औलो बिरामीको सक्रिय खोजपड्ताल गर्ने गरिएको बाराकोटीले बताए । उनका अनुसार रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार कीट्नाशक बिषादी छर्ने गरिएको छ ।