बिर्तामोड । 

साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्द्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो ।

विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा सिद्धेश्वर मावि भोजपुर, शनिश्चरे मावि अर्जुनधारा, धुलाबारी मावि मेचीनगर, शान्ति आदर्श मावि वुद्धशान्ति, हिमालय मावि दमक, कनकाई मावि सुरुङ्गा, झिलझिले मावि शिवसताक्षी र दुर्गा मावि गरामनी छन् । 

पथरिया मावि कचनकवल, लक्ष्मी मावि हल्दीबारी, गौरीगञ्ज मावि गौरीगञ्ज, भद्रपुर मावि भद्रपुर, कुवाडीदेवी मावि झापा गाउँपालिका, जनता मावि गौरादह, फुलबारी मावि वाह्रदशी र महेन्द्ररत्न मावि कमल गाउँपालिकामा पनि यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

हरेक महिना नियमित मासिक सांगीतिक काव्यसभा सञ्चालन गर्दै आएको साहित्य चौतारीले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई सहयोग गरिरहेको छ । चौतारीका संरक्षक श्रेष्ठ साहित्य, संगीत र कला विधामा अब्बल जनशक्ति उत्पादनको लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । 

साहित्य चौतारीले विद्यालय तहमा यो कार्यक्रम सञ्चालन गर्न साहित्यकार भानुभक्तको कुभिण्डेलीको नेतृत्वमा समिति पनि  बनाएको छ । कार्यक्रम लागू भएका विद्यालयमा हरेक महिना साहित्य, संगीत र कला विधामा विद्यार्थीबीच प्रतिस्पर्धा हुने गर्छ ।

प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न विधाका विद्यार्थीलाई साहित्य चौतारीले नगद पुरस्कार समेत उपलब्ध गराउँदै आएको संरक्षक श्रेष्ठले जानकारी दिए । ‘प्रतिभाशाली विद्यार्थी उत्पादनमा यो कार्यक्रमले कोसेढुङगाको रुपमा काम गर्छ भन्ने हाम्रो विश्वास छ’ संरक्षक श्रेष्ठले भने ।

विद्यालयमा साहित्य चौतारी अभियानबारे छलफल हुँदै 

साहित्य चौतारीले विद्यालयमा लागू गरेको कार्यक्रमका विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ । कार्यक्रमको प्रभावकारिता र आगामी कार्ययोजनाका विषयमा साहित्य चौतारीले सम्वन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विषय शिक्षक लगायतसँग छलफल गर्न लागेको हो । 

बैशाख १६ गते ११ बजे होटल हिकोला हेरिटेजमा छलफल कार्यक्रम आयोजना गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । छलफलका लागि साहित्य चौतारीले कार्यक्रम लागू भएका सबै सरकारी विद्यालयलाई आमन्त्रण गरेको छ । 

‘कार्यक्रमलाई थप प्रभावकारी र रचनात्मक बनाउन सकियोस् भन्ने हाम्रो उद्देश्य छ’, संरक्षक श्रेष्ठले भने, ‘यसका लागि सबै विद्यालयलाई आमन्त्रण गरेका छौँ ।’