बिर्तामोड । 

पछिल्लो केही समय यता सहकारी संस्थाहरुमा भ्रम फैलाउने कार्य भएको भन्दै झापाका सहकारी संस्थाहरुले त्यसलाई समाधान गर्न कोअपरेटिभ एलायन्स अफ झापा गठन गरेका छन् । सहकारी क्षेत्र तथा ब्यवसायमा देखिएका त्यस्ता समस्या र घटनाहरुको निराकरण गर्न झापाका सहकारी संस्थाहरु संगठित भएका हुन् । 

बित्तिय, सहकारी संस्था र वैंकहरुलाई हेर्ने दृष्ट्रिकोण गलत भएको भन्दै गलत गर्नेलाई नियमन गर्ने उदेश्यले झापाका सहकारी संस्थाहरु एक भएका हुन् । सात सदस्यीय गठन भएको कोअपरेटिभ एलायन्स अफ झापाको संयोजकमा रामचन्द्र उप्रेती छन् भने सदस्यमा महेन्द्रकुमार गिरी, टसबहादुर श्रेष्ठ, मोहन शिवाकोटी, खोमप्रसाद बगाले, दुर्गा खतिवडा र रुद्रमणि श्रेष्ठ रहेको छन् । 

पहिलो अन्तरक्रिया बिर्तामोडस्थित नेपाल बहुउद्देश्यीय सहकारीमा भएको र दोस्रो कार्यक्रम सहारा नेपाल साकोसमा हुने साथै उक्त कार्यक्रमको संयोजक महेन्द्रकुमार गिरी रहने जनाइएको छ । 

देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थाहरु समस्या ग्रस्त हुँदा सिङ्गो सहकारी अभियान नै तहसनहस भएको भन्ने भ्रमसहित कतिपय सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएकाले त्यसलाई समाधन गर्ने उदेश्यले सहकारी संस्थाहरुले एलायन्स गठन गरेको बिर्तामोडमा आइतवार (आज) आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो । 

केही व्यक्ति र समूहले सहकारी, लघुवित्त र बैकबाट लगानी भएको कर्जा तिर्नु पर्दैन भनेर भ्रम फैलाउने गरेपछि सहकारीहरु संगठित भएका एलायन्सका संयोजक रामचन्द्र उप्रेतीले जानकारी दिए ।

sahakari 1

बित्तिय, सहकारी र बैंकका कर्मचारीलाई धम्क्याउने, दुब्र्यवहार गर्ने तथा त्रासको वातावरण सिर्जना गर्ने कार्यले राम्ररी सञ्चालन भइरहेका सहकारी संस्थाहरुलाई समेत असर परेको भन्दै गलत गर्ने सहकारीलाई नियमन तथा कानुनी प्रक्रियामा ल्याउन कोअपरेटिभ एलायन्स अफ झापा गठन गरिएको जनाइएको छ । 

अन्तरक्रिया कार्यक्रममा सहकारी अभियानमा देखिएका हालका समस्या अस्थायी भएका र ती समस्या सहकारी अभियानका नभएर केही सञ्चालक र व्यवस्थापन पक्षका कमजोरी भएको बताइएको छ । त्यस्ता कमजोरीलाई शून्यमा झार्न र पुनः दोहोरिन नदिन एलायन्स प्रतिवद्ध रहने बताइएको छ । सबै संस्थाले सहकारीका मूल्य, मान्यता, सिद्धान्त, ऐन, नियम, संस्थाको विनियम र संस्थाका निर्णयहरुको पूर्ण पालनालगायतका १४ बुँदे प्रतिबद्धतासमेत कोअपरेटिभ एलायन्स अफ झापाले सार्वजनिक गरेको छ । 

कोअपरेटिभ एलायन्स अफ झापामा हाल १८ वटा सहकारी संस्थाहरु सहभागी भइसकेका र अन्य सहकारी सहभागी भइरहेका संयोजक उप्रेतीले जानकारी दिए ।