भद्रपुर । 

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको नगरसभाले आ. व. २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण शुरु गरिएको हो ।

भद्रपुर नगरपालिकाको आमासँग उपप्रमुख कार्यक्रमअन्तर्गत वडा नं ६ बाट पोसिलो खानेकुरा वितरण शुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए । नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच एकजना बराबर एक केजी घ्यु, आधा केजी मह र एकथान झुलसहितको प्याकेज वितरण गरिएको थियो ।

नगरपालिकाको सामाजिक विकास शाखाकी संयोजक सीता गुरागाईंको अध्यक्षतामा स्वास्थ्य शाखाकी निर्मला निरौलाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले महिलाहरुलाई पोसिलो खानेकुरा वितरण गरेका हुन् । 

पोसिलो खानेकुराकै अभावमा हुनसक्ने मातृ तथा शिशु मृत्युदर न्युनिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट यस आर्थिक वर्षमा करिब नौ सय सुत्केरी तथा गर्भवती महिला लाभान्वित हुने स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमभित्र समेटिन कम्तीमा चारपटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच भएको र सरकारी अस्पतालमा प्रसूती भएको हुनुपर्नेछ ।