झापा । 

झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । कतिपय सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह उठेको भन्दै झापाका सहकारीहरु ध्रुविकरण हुन थालेको बताइएको छ। आर्थिक मन्दीमा सहकारी तथा वित्तीय संस्थामा उत्पन्न हुने सानो समस्याबाट जोगिन र अभियानलाई जोगाउन झापामा सहकारीहरुमा ध्रुविकरण शुरु भएको हो ।

‘कोअपरेटिभ एलाइन्स अफ झापा’ नामक एउटा लुज फोरम गठन गरी सहकारी ऐन, नियम, नीति र विधिमा उल्लेखित सुशासन र मापदण्डमा चलेका सहकारीहरुले ध्रुविकरण शुरु गरेका हुन् । एलाइन्सको वैशाख ३१ गते सम्पन्न दोस्रो बैठकले सिङ्गो सहकारी अभियानलाई ट्र्याकमा हिंड्न सात बुँदे अपील पनि जारी गरेको छ ।  

 संस्था ठिक बाटोमा हिंडिरहेको छ भन्ने कुराको एण्डिकेटरहरु पारदर्शी रुपमा प्रस्तुत गर्ने, सो संस्थाका बारेमा एलाइन्सका सबैले मसिनो गरी जानकारी लिने, समस्यामा परिहाल्यो भने एकापस मिलेर भरथेग गर्ने, सहकारीका बीचमा अस्वस्थ प्रतिष्पर्धा नगर्नेलगायतका एलाइन्सका निर्णयहरु गरेको कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ बताएका छन् । 

आफ्नो संस्था सुशासनमा चलेको छ भनी आश्वस्त पार्न एलाइन्सले तयार गरेको  ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुपर्ने नियम बनाइएको छ । एलाइन्सका अर्का सदस्य खोमप्रसाद बगालेले भने, ‘पारदर्शिताको टुल्समार्फत अभियानमा सो संस्थाको अवस्था छर्लङ्ग देखाएर समस्या भए नभएको बारे पब्लिक अडिट गराई सुशासनमा चलेको भए एलाइन्समा मिसिन सबैलाई आह्वान छ ।

सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बर देउजाको अध्यक्षतामा बिर्तामोडमा को–अपरेटिभ एलाइन्सको दोस्रो बैठक सम्पन्न भएको थियो । एलाइन्सको बैठकमा सहकारी संस्था, अभियानकर्मी तथा सरोकारवालाहरुमा लक्षित गरी सहकारी र बित्तिय संस्थामा भएका समस्या समाधान र सहकार्य गर्नका लागि ७ बुँदे अपीलसमेत जारी गरिएको  छ ।