बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज (बिहिबार) बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा वालवालिका ४ जना रहेका छन् ।

काक्तिक महिना यता बिर्तामोड नगरअस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । संकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटीभ देखिएको हो ।

कुष्टरोगका कारण बिर्तामोडमा बिर्तामोडमा ६ जना अपांगसमेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुन बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १०मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए । यस वडामा कुष्ठरोगीको ९ रहेको छ ।

कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर घरमा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको संकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग नियन्त्रणका लागि समुदाय स्तरमा डटेर लाग्न निर्देशन दिइन् । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरि काम गर्न जोड दिँदै उनले नगरलाई क्षयरोग, कुष्ठरोग लगायतका रोगहरु मुक्त बनाउनु पर्ने बताइन् ।

यस्तै सर्ने रोगहरुको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरु गर्नु पर्ने बताए ।

कार्यक्रममा एनएलएफ दिपक घिमिरेले झापामा अहिलेप्रति दश हजार जनसंख्यामा २ जना भन्दा बढीलाई कुष्ठरोग देखा पर्ने गरेको बताए । उनले बिर्तामोडमा प्रति वर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा नगरm उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ्ग, कार्यपालिका सदस्य यमुना आचार्य, लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।