बिर्तामोड ।

 बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको छ । 

झापा बिर्तामोडमा आइतवार (आज) उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै मेघराज वास्तोलालाई अध्यक्ष पदको उम्मेद्वार खडा गर्दै सो समूहले आफ्ना उम्मेद्वार सार्वजनिक गरेको हो । आगामी जेठ १५ गते बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको  निर्वाचन हुँदैछ । 

लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारश मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यमा आनन्द गुरुङ,वालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् । 

नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उम्मेद्वारको घोषणा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले गरेका थिए । 

राप्रपाका नेता शंकर रिजालले स्वागत गरेको कार्यक्रममा संविधान सभा सदस्य सुधीर कुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेले, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए ।