बिर्तामोड । 

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले  अलैंचीको बिज्ञ अभाव भएको बताएका छन् । नेपाल अलैंची ब्यवसायी महासंघ केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार (आज) बिर्तामोडमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा कोशी प्रदेशमा मात्र नभएर देशमै अलैंचीको बिशेयज्ञ नभएको बताएका हुन् ।

मन्त्री सिटौलाले अलैंचीका बिषयमा आफु धेरै जानकार भएको बताउँदै उत्पादनमुखी अनुदानको लागि सक्दो पहलकदमी गर्ने प्रतिबद्धता गरेका छन् । 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैंची ब्यवसायीहरु मारमा परेको बताए । उनले अलैंचीलाई नेपालमै खपत गर्ने वातारण सिर्जना गर्नका लागि महासंघले बिभिन्न छलफल तथा अन्तरक्रियालगायतका कार्य गर्दै आएको बताए । अलैंचीको मूल्य घटबढ भइरहने हुँनाले त्यसका लागि स्ट्रक हाउस स्थापना गर्नु पर्नेमा जोड दिए । 

उनले ब्यवसायीलाई  मात्र नभएर अलैंची किसानलाई संगठित गरेर महासंघले किसानहरुको हकहितका लागि समितिसमेत निर्माण गर्न सहयोग गरिरहेको बताएका छन् । 

स्वागत महासंघका उपाध्यक्ष सुवास भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासचिव नारायण चिमरियाले गरेका थिए । सोही कार्यक्रमकाबिच मन्त्री सिटौलालाई स्वागत तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा अलैची ब्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।