बिर्तामोड । 

झापा र इलामका एक हजारबढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी तालिम हासिल गरेका छन् ।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरिएको झापाको विर्तामोडमा शुक्रवार (आज) अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको हो ।

पछिल्लो करिब ८ महिनाको अवधिमा झापा र इलामका विभिन्न स्थानमा चिया, अलैंची, अदुवाजस्ता निर्यातजन्य कृषिवस्तुका उद्योगमा कार्यरत एक हजारबढी मजदूरलाई काम गर्दा अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षासम्बन्धी क्रियाकलापका बारे तालिम दिइएको कार्यक्रमका फिल्ड संयोजक गोपाल पौडेलले जानकारी दिए ।

उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित संघ–संस्था र वस्तुगत संघहरुका पदाधिकारी–सदस्यहरुको सहभागिता रहेको अन्तरक्रियामा आईएलओकी राष्ट्रिय कार्यक्रम संयोजक बन्दना अर्यालले कार्यक्रम बारे सहभागीहरुलाई प्रस्तुति दिएकी थिइन् ।