बिर्तामोड ।

 झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको छ । प्रतियोगिताका बारेमा बुधवार (आज) आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले जानकारी दिएको हो ।

प्रतियोगिता जेठ २७ र २८ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात वटा प्रदेशका टिमको सहभागी रहने जनाइएको छ । 

त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए ।  प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् । पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।

प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने उप्रेतीले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी २ सय जनाको सहभागिता रहने मैनालीले जानकारी दिए । कार्यक्रममा मदन भण्डारी फाउण्डेशन झापा अध्यक्ष हरिचरण शिवाकोटी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललगायतको उपस्थिति रहेको थियो ।