झापा । 

कम्बरदेखि मुनिको भाग नचलेर कष्टकर जीवन बिताइरहेकी मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ की ४२ बर्षिया धनमाया बिष्टको उपचार हुने भएको छ ।

सवारी दुर्घटनामा परेर कम्बरदेखि मुनिको भाग नचल्ने भएकी बिष्टको समस्या देखेपछि झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले उपचार गरिदिने भएको हो । 

  •   समाचार प्रभाव 
  • केहीदिन अघि शब्दपत्र डटकम अनलाइनमा ‘बुबाको मृत्युपछि आमा दुर्घटनामा, छोराछोरीको पालन–पोषण तथा पठन–पाठनमा समस्या’ शिर्षकमा समाचार प्रकाशन भएपछि सहारा नेपाल साकोसको ध्यानकर्षण भएको थियो । 

bista 1

बिष्टको उपचारमा लाग्ने सम्पूर्ण खर्च सहारा नेपाल साकोसले ब्यहोर्ने गरी उनलाई उपचारका लागि मंगलबार बिराटनगरको कन्चनबारीस्थित आर्य न्यूरो हस्पिटलमा भर्ना गरिएको सहारा नेपाल साकोस बिराटचोक सेवा केन्द्रका प्रमुख मोतिखर सञ्जेलले जानकारी दिए । हस्पिटलमा बिरामी बिष्टको हेरचाह भने उनका माइती पक्षले जिम्मा लिने भएका छन् । 

एकल तथा अति विपन्न बिष्टको आर्थिक अभावका कारण उपचार नभएपछि घरमै कष्टकर जीवन बिताउन बाध्य भएकी थिइन् भने छोराछोरीको पालनपोषण तथा पढाईमा समेत समस्या भएको थियो । 

शब्दपत्र डटकममा समाचार प्रकाशन भएपछि उनको समस्या पढेर साकोसले उपचारको प्रबन्ध मिलाएको सेवाकेन्द्र प्रमुख सञ्जेलले जानकारी दिए । 

बिष्टलाई सुन्दरहरैंचा नगरपालिका–१ की वडासदस्य धारणा खनाल, सहारा नेपाल साकोस सलकपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत महेश तामाङ, सुन्दरहरैंचा नगरपालिकाकी स्वास्थ्यकर्मी ममता भट्टराईसहितको टोलीले तथा आफन्तले हस्पिटलमा भर्ना गरेको सेवा केन्द्र प्रमुख सञ्जेलले बताए । 

bista 2

गत मंसीरमा मजदुरी गरेर इटहरीबाट घर फर्कने क्रममा बिष्ट सवारी दुर्घटनामा परेर कम्बरदेखि मुनीको भाग नचल्ने भएकी थिइन् । उनी काम गरेर ट्याक्टरको डालामा बसेर घर फर्कने क्रममा उछिट्एर दुर्घटनामा परेकी थिइन् । 

बिष्ट सहारा नेपाल साकोस बिराटचोक सेवा केन्द्र अन्तरगतको नवरत्न सहारा महिला समुह नम्बर ११४ की सदस्य समेत हुन् । उनी उक्त समुहमा २०७२ पुस ९ गतेदेखि आवद्ध रहँदै आएकी सेवा केन्द्र प्रमुख मोतीखर सञ्जेलले जानकारी दिएका छन् । 

त्यसैगरी सुन्दरहरैंचा नगरपालिका–१ को पहलमा नगरले ह्वील चियरका लागि बिष्टको घर अगाडि ढलाई गरिदिने भएको छ । त्यसैगरी छोराछोरीको अध्ययनका लागि पनि नगरपालिकाले समन्वय गर्ने भएको जनाइएको छ । 

संस्थाका स्वास्थ्य युनिट प्रमुख भक्त खड्का र स्वास्थ्य युनिट कर्मचारी मुना आचार्यको समन्वय र सहजीकरणमा बिष्टलाई उपचार गर्न हस्पिटल लगिएको हो ।