बिर्तामोड । 

अखिल (क्रान्तिकारी) झापाले बालबालिका पढ्ने असंवेदनशील मण्टेश्वरीमा चरम लापरवाही गरेको निकर्ष निकाल्दै सञ्चालक तथा कर्मचारीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । 

झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको सानो साथी किण्डर गार्टेन मण्टेश्वरीको सेफ्टी ट्याङ्कीमा सोमवार डुवेर गम्भिर भएका ८ बर्षिय बालक तान्चोक लिम्बूको मंगलबार उपचारको क्रममा मृत्यु भएपछि उक्त मण्टेश्वरीका सञ्चालक र कर्मचारीलाई कडा कारवाही गर्न अखिल (क्रान्तिकारी) ले सम्बन्धित निकायलाई माग गरेको हो । 

अखिल (क्रान्तिकारी) झापाका संयोजक प्रज्वल कडरियाले मंगलबार बिज्ञप्ती जारी गर्दै उक्त  मण्टेश्वरीमा धराप सिर्जना गर्ने, बालबालिकाको ज्यानै जाने कुरामा हेलचेक्रयाई गर्नेलाई कारवाहीको माग गरेका छन् ।  संयोजक कडरियाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘उक्त घटनालाई सुक्ष्म ढंगले छानविन गर्दै अपराधीलाई कडा कारवाही र पीडितलाई उचित न्यायको माग गर्दछौं । साथै आधारभूत संरचना नै अपुग भएको उक्त मण्टेश्वरीलाई तत्काल बन्द गराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।’

शैक्षिक संस्थामा देखिएका यस्ता अमानवीय क्रियाकलाप अपराध भएको ठहर गर्दै  त्यस विरुद्धमा अखिल (क्रान्किारी) चरणबद्ध आन्दोलनमा उत्रिने र त्यसबाट  सिर्जना हुने परिणामको स्वयमं विद्यालय प्रशासन जिम्मेवार हुनुपर्ने बिज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।