हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाका चार वटा विद्यालयलाई स्वच्छ खानेपानी फिल्टर प्लान्ट उपलव्ध भएको छ । वातावरण संरक्षण केन्द्र, नेपाल (इपिसी) चन्द्रपुर–४ रौतहटले बिद्यालयमा स्वच्छ खानेपानी खुवाउने उद्वेश्यले हल्दिबारीका चारवटा बिद्यालयलाई खानेपानी फिल्टर प्लान्ट वितरण गरेको हो । 

हल्दिबारी मावि, जन जागृति मावि, महेन्द्र मावि र चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयलाई उक्त प्लान्ट विद्यालयमै पुगेर हस्तान्तरण गरिएको छ । सिंगापुरमा रहेको भिएण्डभि एडभाइजरि सर्भिसेसको आर्थिक सहयोगमा झापाका विभिन्न विद्यालयहरुमा वातावरण संरक्षण केन्द्र नेपालले प्लान्ट जडान गर्दै आएको संस्थाका झापा प्रतिनिधि अमर मेचेले बताएका छन् ।

हल्दिबारी ४ का पुर्व वडा सदस्य, नेकपा एमालेका हल्दिबारीका उपाध्यक्ष महेशलाल मेचेको समन्वयमा करिब ३० लाख मुल्य बराबरको खानेपानी फिल्टर प्लान्ट हल्दिबारीका चार विद्यालयले प्राप्त गरेका छन् ।

हल्दिबारी मा.वि.का प्रधान अध्यापक टंकबहादुर पार्खिन, जनजागृतिका विद्यालय ब्यवस्थापन अध्यक्ष सरोज राई, महेन्द्र मा.वि.का प्रधान अध्यापक चक्रबहादुर बस्नेत र चिल्ड्रेन ग्राडेनका प्रिन्सिपल दुर्गा गौतमलाई विद्यालयमै पुर्व जनप्रतिनिधि समेत रहेका महेशलाल मेचे र संस्थाका झापा प्रतिनिधि अमर मेचेले हस्तान्तरण गरेका हुन् । 

बातावरण संरक्षण केन्द्र नेपालका प्रविधिकहरुले प्लान्ट जडान कार्य शुरु गरेका छन् भने तिन दिन भित्रमा जडान गरि सकिने झापा प्रतिनिधि मेचेले जानकारी दिएका छन् । उक्त प्लान्ट जडान पछि प्रत्येक विद्यालयका एक हजार पाँचसय विद्यार्थीलाई स्वच्छ खानेपानी खुवाउन सकिने संस्थाले जनाएको छ ।