मेचीनगर ।
भारतबाट एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै मेचीनगरमा त्यसको चौतर्फी बिरोध भएको छ । मंगलबार भन्सार शुल्क नियमका कारण दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै ब्यवसायीलाई उक्त नियम खारेजीको माग राख्दै आन्दोलित बनेका हुन् ।
होटल ब्यवसायी संघ मेचीनगरले सिमा क्षेत्रमा मनपरी नियमलागु गरेको भन्दै काँकरभिट्टामा बिरोध र्याली गरेको छ । ब्यानर र प्ले(कार्डसहित सडकमा उत्रेका ब्यवसायीले १ भन्दा बढीको सामान ल्याउन पाउनुपर्ने भन्दै बिरोध गरेका हुन् । आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला ब्यवसायीलाई सास्ती दिने खालको अब्यबहारिक नियम नलागाउन स्थानीय सरकार मेचीनगरलाई आग्रह गरेका थिए ।
यता भारतबाट सामान नेपालको विभिन्न ठाउँसम्म पुर्याएर दैनिक गर्जो टार्दै आएका ब्यवसायीले मेची नगरपालिका घेराउँ गरेका छन् । सामान बोकेर ब्यवसाय गरेर गुजारा चलाउँदै आएका ब्यवसायीको दैनिक गुजारा नै रोकिएको भन्दै उनीहरुले नियम नलगाउन नगर प्रमुखलाई आग्रह गरेका थिए ।
सिमावर्ती क्षेत्रमा भन्सार छलेर सामान आयात हुँदा राजश्व अशुलीमा गिरावट भएको पाएपछि सरकारले साउन १ गतेदेखि लागू हुने गरी भन्सार कार्यालयले जाँचपास गराएरमात्रै यात्रुलाई छोड्न निर्देशन गरेको थियो । मेची नगरपालिकाको समन्वयमा मेची उधोग बाणिज्य संघ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ड, स्थानीय राजनीति दलका प्रमुखलगायत सम्मिलित भेलाले १०० भन्दाबढी रकमको सामानलाई भन्सार शुल्क लिने निर्णय गरेका थिए ।
सोहीअनुसार मेची भन्सार कार्यालयले भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको चेकजाँच गरी १ सय भन्दा बढी मूल्यका सामानको भन्सार शुल्क लिन सुरु गरिएको थियो ।


















