बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले नगर भित्र सञ्चालित १२ वटा संस्थागत बिद्यालयलाई कारवाही गर्ने भएको छ । नगरको शिक्षा शाखाले बुधवार एक सूचना जारी गर्दै छात्रवृत्तिको विवरण नबुझाउने संस्थागत विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिएको हो । 

नगरपालिकाको शिक्षा शाखाले छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने जनाएको छ ।

छात्रबृत्ति विबरण नबुझाउनेमा बिर्तामोड १० को विराटअर्जुन इङलिस स्कुल, बिर्तामोड ५ को मिडिल प्वाइन्ट इङ्लिस स्कुल, बिर्तामोड–३ को नवोदय फनमिन इङ्लिस स्कुल, बिर्तामोड १० सिद्धार्थ शिशु सदन, बिर्तामोड–१ को हिमरेश एजुकेशन एकाडेमी, बिर्तामोड–८ को सनराइज एजुकेशन फाउण्डेशन रहेका छन् ।

त्यसैगरी  बिर्तामोड –४ को बेबी लेण्ड इङ्लिस स्कुल, बिर्तामोड–२ को मंगलदिप एलाईट इङ्लिस स्कुल, बिर्तामोड ५ को हेप्पी किड्स इङ्लिस स्कुल, बिर्तामोड–४ को ग्रिनउड इङ्लिस स्कुल, बिर्तामोड–१ को प्राग्ना इङ्लिस स्कुल र बिर्तामोड–६ को बिर्ता एजुकेशन इङ्लिस स्कुल रहेका छन् । 

नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेपनि अटेर गरेपछि बुधवार कार्वाहीको चेतावनीसहितको सूचनामा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।  

सात दिने म्याद सकिएपछि नगरपालिका कार्वाहीको प्रक्रियामा जाने बताइएको छ । बिर्तामोड नगरमा ५८ वटा संस्थागत विद्यालय मध्ये ४६ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १२ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।