मेचीनगर। 

सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशत ले हुने छुट दिनेलगायतका विषयमा यातायात व्यवसायी  र विद्यार्थीबीच सहमति भएको छ । पूर्व मेची बस व्यवसायी प्रालिको सभाकक्षमा विहीबार विद्यार्थी नेता र व्यवसायीबीच यस्तो सहमति भएको हो । लामो समयदेखि बस चढ्ने विषयमा विद्यार्थीले समस्या भोग्दै आएका थिए । अब दुईपक्षबीचको छलफलबाट विद्यार्थीको समस्या समाधान भएको छ ।

यस्तै स्कुल कलेजको पोसाक र क्याम्पसले जारी गरेको विद्यार्थी परिचय पत्रको आधारमा सार्वजनिक बिदाका दिन बाहेक छुट उपलब्ध गराइने निर्णय भएको छ । अधिकतम् एक बसमा २० जना विद्यार्थी यात्रा गर्न पाउने गरी सहमति भएको हो । 

पूर्व मेची बस व्यवासायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा व्यवसायी राजेन्द्र रिजाल, देविप्रसाद भट्टराई हिमा दाहाल, केशव गिरी, प्रविन थापा, कपिल थापा, किरण खड्काको सहभागिता रहेको थियो । 

यस्तै, विद्यार्थीको तर्फबाट काँकरभिट्टा क्याम्पसका स्ववियु सभापति विशाल तामाङ्ग, अर्जुन गौतम, सन्दिप न्यौपाने, मनिष विश्वकर्मा, श्रीजीत ढुंगानालगायतको उपस्थिति रहेको थियो । धुलाबारी, इट्टाभटा, काँकरभिट्टा चारआली, विर्तामोड र भद्रपु्रसम्मका कलेजमा पढ्ने विद्यार्थी बसबाट आउजाउ गछन् ।