हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आइतवार (आज) पालिकामा धर्नासहित ज्ञापन पत्र बुझाएका छन् । प्रस्तावित शिक्षा ऐन २०८० प्रति विमती जनाउदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा आज साउन २८ गते बिहान ११ः०० बजे देखि २ः०० बजेसम्म धर्ना दिदै पालिकामा ज्ञापन बुझाएका हुन् ।

शिक्षकहरुका पेशागत संस्थाहरुसँग विगतमा सरकारले गरेका सहमतीहरु कार्यान्वयन गराउँन माग गर्दै शिक्षकहरु देशभरबाट एकैसाथ आन्दोलित भएका छ्न् । आन्दोलनको चरणबद्ध कार्यक्रम अनुरुप पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत आज स्थानिय पालिकामा धर्ना तथा ज्ञापन पत्र बुझाइएको हो। हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपानेलाई ज्ञापन–पत्र बुझाउदै शिक्षक महासंघ हल्दिबारीका अध्यक्ष मदन पोख्रेलले लगायत १४ घटक संगठनका प्रतिनिधिहरू र शिक्षकहरू समेत भएर ज्ञापन–पत्र बुझाएका हुन्।

नेपाल शिक्षक महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षक, कर्मचारीहरु राहत शिक्षक, अनुदानकोटा तथा बालविकास शिक्षकहरु पालिका स्तरीय धर्नामा बसेका हुन् । प्रधानाध्यापक तथा शिक्षक माथि स्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयोग गरी निर्वाचित पदाधिकारीले कठपुतली बनाउन खोजेको, विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनु पर्ने माग राखेका छन् ।

त्यस्तै  शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक÷खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने अथवा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रमिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणको विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।