झापा । 

झापा जिल्लाका चिया बगानका मजदुर तथा विपन्नलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण गर्ने उदेश्यका साथ आगामी शनिवार निःशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । 

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले दैनिक जनताको घरदैलोमा जाने कार्यक्रम अन्तरगत झापामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशले प्रत्येक जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाइएको छ । 

बिशेष गरेर महिलाहरुलाई प्राथमिकतामा राखेर हुने निःशुल्क स्वास्थ्य शिविरमा झापा भरका जो कोहीले पनि परिक्षण गर्न सक्ने प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले जानकारी दिइन् । 

मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित अरनिको माबिमा हुने निःशुल्क स्वास्थ्य शिविरको संयोजन नेकपा (माओवादी केन्द्र) झापाले गर्ने जनाइएको छ । 

जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको आयोजना तथा प्राविधिक सहयोगमा  मेचीनगरस्थित राज टि स्टेट र सतीघट्टा टि स्टेटमा काम गर्ने मजदुरसहित जिल्ला भरका मजदुरका लागि स्वास्थ्य शिविर सञ्चालन हुने अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिएका छन् । 

स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रि तथा प्रसुति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याव तथा इ.सि.जि., हाड जोर्नि तथा नशा रोग सम्वन्धि, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घांटी रोग, आँखा सम्वन्धि रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्वन्धि रोग सेवा उपलब्ध रहेको जनाइएको छ । 

स्वास्थ्य शिविरमा परिक्षण गर्नेको आर्थिक अवस्था हेरेर शल्यक्रिया गर्नु पर्ने भए २५ देखि ५० हुँदै सतप्रतिशत छुटसमेत गरिने फ्याक्शन इन्चार्ज पोखरेलले जानकारी दिइन् । शनिवार भदौ ९ गते बिहान १० बजेदेखि स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।