हल्दिबारी।
नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका कमिटीले तीन महिने अभियानलाई सशक्त बनाउने निर्णय गरेको छ । पार्टीको गाउँपालिकाको विस्तारित बैठकले केन्द्रीय नीति अनुरुप यही भदौ १६ गतेदेखि शुरु हुन लागेको तीन महिने ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने नाराका साथ ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत नागरिकको घर–घरमा पुगेर अभियानलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ममता राजवंशीले सरकार अहिले भ्रष्टाचाररहित सुशासनयुक्त र समृद्ध मुलुक निर्माणमा जुटेको बताइन् । सरकारले गरेका राम्रा कामका प्रचारसँगै जनताको सुखदुःख, समस्या, आवश्यकता बुझ्न घर–घरमा जान पार्टीले अभियान सञ्चालन गर्न लागेकाले सोही अनुरुप सबै नेता–कार्यकतालाई जुट्न आग्रह गरिन् । उनले आपसी असन्तुष्टिलाई थाँती राखेर पार्टी सुदृढ र सशक्त पार्टी निर्माणमा जुट्न सबै नेता–कार्यकर्तालाई निर्देशन समेत दिइन् ।
गाउँपालिका उपाध्यक्ष शुकलाल राजवंशीको अध्यक्षतामा बसेको बैठकले भदौ १३ गतेखि १५ गतेसम्म हल्दिबारीका पाँच वटै वडामा वडा भेला सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, अभियानलाई सफल बनाउन गाउँपालिका सहइञ्चार्ज विजय लावतीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति र गाउँपालिका सहसचि हैकम घिसिङको संयोजकत्वमा पाँच सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरेको पार्टीका गाउँपालिका सचिव दीप राजवंशीले जानकारी दिए। सन्तुष्ट पक्षहरुसँग छलफल र सम्वादलाई समेत तीव्र पारिएको उनले बताए ।
बैठकमा पार्टीका जिल्ला समन्वय समिति सचिव मोहन टुडू, प्रदेश समिति सल्लाहकार सौतालाल मेचे लगायतको आतिथ्य रहेको थियो । यसैबीच, अभियान अन्तरगत हल्दिबारीमा सहिद परिवार, सेल्टर दाता तथा पुराना नेतृत्व र कार्यकर्ताको घर–घर मा भेटघाट तथा छलफलसमेत शुरु भएको छ । सोही क्रममा सहिद मेमकुमार मगरको पिता बलबहादुर मगरको घरमा हल्दिबारी कमाण्ड इञ्चार्ज पार्टीका केन्द्रीय सदस्य ममता ताजपुरिया नेतृत्वमा टीका राउत, सारदा चम्लागाई, रचना कुलुङ लगायतको टीम पुगेको छ ।


















