झापा ।
नेकपा (माओवादी केन्द्र) ले देशभर शनिवार आजदेखि तीन महिने अभियान शुरु गरेको छ । माओवादी केन्द्रको निर्देशन अनुसार ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ तीन महिने अभियान आजदेखि देशैभर उद्घाटन हुँदैछ ।
‘जन जनमा मओवादी, घरघरमा माओवादी’ भन्ने नाराका साथ झापामा पनि पार्टीले अभियान आज उद्घाटन गर्दैछ । झापामा रहेका १५ स्थानीयतह अन्तरगत एकसय ३१ वटै वडामा अभियान शुरु गरिएको हो । उदघाटन अभियानको शुरुवातमा सरसफाई, रक्तदान, वृक्षारोपणलगायतका सामाजिक कार्यक्रम गरिने बताइएको छ ।
अभियानको उद्घाटनसँगै पार्टीले जनताका घर–घरमा गएर उनीहरुका समस्या माओवादीले गरेको परिवर्तनका बिषयमा जानकारी गराइनेछ । माओवादीले स्थापित गरेका मुख्य एजेण्डा र जन अधिकार स्थापना गर्न अभियान सञ्चालन गरिएको हो । माओवादीले गरेको परिवर्तन सवै जनतालाई जानकारी गराउँदै एकताबद्ध गर्न अभियानको शुरुवात गरिएको हो । अभियान अन्तरगत प्रत्येक जनताको घरमा गएर उनीहरुका दुःखसुख बुझ्ने र सुझाव संकलन गर्न अभियान सञ्चालन गरिएको हो ।
पार्टी संगठनलाई सुदृढीकरण गरेर सदस्य संख्या बढाउने र पुनः माओवादीलाई २०६४ कै तहमा फर्काउन अभियान चलाउन लागिएको पार्टीले जनाएको छ । अभियानका लागि केन्द्रिय नेतादेखि पार्टीको जनबर्गिय संगठनलाई समेत परिचालन गरिएको छ ।
अभियानका लागि मेचीनगर र बुद्धशान्तिमा कोशी प्रदेश सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), अर्जुनधारा र बिर्तामोडमा केन्द्रीय सदस्य शिवकुमार मण्डल, भद्रपुर र कचनकवलमा केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर), बाह्रदशीमा प्रदेश कमिटीका सहसचिव रचना राई, हल्दीबारीमा केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशी, कनकाई र झापा गाउँपालिकामा केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद राजेन्द्र कुमार कार्की (नबिन), शिवसताक्षी र गौरीगञ्जमा केन्द्रीय सदस्य मोहन खड्का (हिमशिखर), कमल र गौरादहमा पार्टीका प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेती (शुसिल) र दमकमा केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम) को जिम्मेवारी रहेको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।
झापाका एक सय ३१ वटै वडामा आज एकैसाथ अभियानको उद्घाटन हुने पार्टीले जनाएको छ । अभियानको क्रममा जनयुद्धको समयमा पार्टीलाई सेल्टर दिने, द्वन्द पिडित, अपाङ्ग, घाइते, शहिद परिवार, बेपत्ता परिवार, जनसेनामा भर्ती हुनेलाई पार्टीको तर्फबाट धन्यवादसहित योगदानका आधारमा कदर पत्र प्रदान गरिने जनाइएको छ ।


















