बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम शुरु गरेको छ । विश्व रेविज दिवशको अवसर पारेर नगरपालिकाले आज (शुक्रबार) देखि सप्ताह व्यापी रेविज विरुद्वको खोप कार्यक्रम शुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गरेका हुन् । 

वडा नम्बर १० स्थित सैनिक बजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछि तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरी रेविज विरुद्वको खोप लगाइने छ ।  

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाले वर्ष भरिनै रेविज खोप निःशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछि तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निशुल्क लगाउने व्यवस्था रहेको अधिकृत राजेश अधिकारीले जानकारी दिए।

कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए। खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रमबहादुर चौधरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।