मानेभञ्ज्याङ  । 

टेरिटोरियल आर्मी दार्जिलिङको जितसंगै सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । आर्मीले सिलोङ लाजोङ एफसी आसाम माथि ४–१ गोल अन्तरको जित निकालेसंगै सेमीफाइनल पुग्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा बिएसके जलपाइगुडी र कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भिड्नेछन् ।

दोश्रो सेमीफाइनलमा चाँद एफसी तीनधारिया र टेरिटोरियल आर्मीको भेट पक्का भएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइलन खेलमा वाङदेन तामाङ चम्किएपछि आर्मीले सेमीफाइनलमा स्थान बनाएको छ । उनले खेलमा ह्रयाट्रिक गरे । २० औ, ३५ औ र ४८ औ मिनेटमा उनले गोल गरे । त्यसैगरी एन्थोनी क्षेत्रीले ५९ औ मिनेटमा गोल गरे ।

सिलोङ लाजोङबाट सानोले ५१ औ मिनेटमा सान्तवना गोल फर्काए  । आर्मी माथि दबाब सृजना गरेपनि डिबक्सभित्र पाएको अवसरहरुलाई सिलोङले सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलमा पराजित हुन पुगेको हो । खेलको म्यान अफ दि म्याच आर्मीका वाङदेन तामाङ घोषित भए ।  क्वाटरफाइनल प्रवेशका लागि सिलोङले मानेभञ्ज्याङ फुटबल क्लब र आर्मीले रोलिङ क्लब धुलाबारीलाई हराएको थियो । बुधबार प्रतियोगिताको पहिलो सेमीफाइनल खेल हुनेछ ।