बिर्तामोड।

 झापाको बिर्तामोडमा  मंगलबार आजदेखि शुरु भएको चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजितगर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भएको प्रतियोगिताको पहिलो खेलको निधार्रित समय एक–एक गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा ४ वटा प्राहार गोलमा परिणत गर्दै बिर्तामोड–४ विजयी बनेको हो।

त्यसअघि भएको खेलको पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । वडा नम्बर ३ का लागि खेल सुरु भएको १७ औं मिनेटमा सन्तोष राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै बिर्तामोड–४ ले जवाफी गोल फर्काएपछि बिर्तामोड–३ को अग्रता धेरै बेर कायम रहन सकेन् । बिर्तामोड–४ का लागी पहिलो हाफको २० मिनेटमा बिशाल बस्नेतले जवाफी गोल फर्काएका थिए । टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड–४ का गोल रक्षक अनुराग श्रेष्ठ आजको खेलको ‘म्यान अफ दि म्याच’ चुनीए । उनले नगद १५सय पुरस्कार पाए ।  

पहिलो खेल अघि औपचारीक समारोहकाबिच प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।  प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।  फाईनल खेल कात्तिक २ गते हुने छ ।