बिर्तामोड । 

नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले झापाको बिर्तामोड–४ मा सञ्चालनमा ल्याउन लागेको नागरिक सहकारी अस्पतालको प्रगति विवरण सार्वजनिक गरेको छ ।   

बडादशैं, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आइतवार बिर्तामोडमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरी निर्माणधिन अस्पताल र सेवा सुचारु गर्ने बारे जानकारी गराइएको हो । 

‘हाम्रो अस्पताल हामी आफै बनाउँछौ’ भन्ने मुल नराका साथ एक बर्ष अघि शुरु गरिएको अस्पताल आगामी एक बर्षभित्र सेवा सुचारु गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक कृष्ण पौडेलले जानकारी दिए । लिमिटेडका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रवन्ध निर्देशक पौडेलले अहिलेसम्म भएको अस्पतालको प्रगति विवरण तथा सेवा सुचारु गर्ने बारे जानकारी गराएका हुन् । उनले लिमिटेडले १५१ जना सदस्य रहेको र २ करोड एक लाख ५० हजार रुपैयाँ संकलन भएको मध्ये २ करोड ७४ लाख ५१ हजार ५०० रुपैयाँ खर्च भइसकेको बताएका छन् । बिर्तामोड–४ मा १०.५ कठ्ठा जग्गा २५ बर्षका लागि लिजमा लिएर अस्पताल निर्माण कार्य भइरहेको प्रबन्ध निर्देश पौडेलले बताए । 

अस्पताल सञ्चालनसँगै आधारभूत स्वास्थ्य सेवा, जनरल फिजिसियन सेवा, जनरल शल्यकृया, स्त्रीरोग तथा प्रसुती सेवा, बालरोग तथा शिशु सेवा, दन्त चिकित्सक सेवा, हाडजोनी सेवा, सामान्य उपचार सेवा,  फिजियोथेरापी सेवा र एनेस्थेशिया सेवालगायतका सेवा प्रदान गरिने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । 

लिमिटेडका उपाध्यक्ष डा.प्रमोदकुमार साहले अस्पतालमा उपलब्ध सेवाका बारेमा जानकारी दिएको कार्यक्रममा प्रयास प्रराम्भका सञ्चालक लोकप्रिय खनालले अस्पतालका बारेमा प्रस्तुती दिएका थिए भने कार्यक्रममा स्वागत तथा सञ्चालन लिमिटेडका सचिव रबिन्द्र भट्टराईले गरेका थिए । 

सरल एवम सुलभ रुपमा स्वास्थ्य सेवा पाउन बंचित हुनु परेको यथार्थलाई मध्यनजर राख्दै चलन चल्तीका अस्पतालहरु भन्दा छुट्टै शैलीमा अस्पताल सञ्चालन गर्ने र नाफा कमाउन प्रतिस्पर्धा भन्दा पनि समुदाय तथा शेयर सदस्यहरूका सहकारीको सिद्धान्त नागरीक स्वास्थ्य सहकारी संस्थाको स्थापना गरी निकट भविष्यमा नागरिक सामुदायिक सहकारी अस्पताल सञ्चालन गर्ने अभियान अनुरुप अस्पताल सञ्चालन गर्न लागिएको बताइएको छ । 

छरीएर रहेको स्थानीय पूँजीलाई एकीकृत गरी स्वास्थ्य सेवामा उच्चतम प्रविधिको प्रयोग गर्दै रोजगारीकोसमेत सिर्जना गर्ने, सरल एवम सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आवद्ध शेयर सदस्यहरु लगायत सवैलाई जतिसुकै कठिन परिस्थितिमा समेत स्वास्थ्य सेवा उपलब्ध गराउने, पहिले उपचार त्यसपछि मात्र भुक्तानीको सिद्धान्तमा आधारित उपचार सेवा पैदान गर्ने, ज्येष्ठ नागरीक हेरचाहकेन्द्र संचालन गर्ने, ज्येष्ठ तथा अशक्त नागरीकहरुको लागि होमकेयर सेवा संचालन गर्ने, घुम्ती स्वास्थ्य शिविरहरु संचालन गर्ने, नविनतम प्रविधिहरुको उच्चतम प्रयोग गर्दै अन्य देशहरुमा संचालन भएका सहकारी अस्पतालहरुको उत्कृष्ट अभ्यासहरु अवलम्बन गर्ने उदेश्यले अस्पताल सञ्चालन गरिने बताइएको छ ।