झापा । 

बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित विकल्प समता, समाजवाद र मुक्त दुनियाँ पुस्तक परिचर्चा झापाको बिर्तामोडमा यही शनिबार गरिने भएको छ ।

यही कात्तिक १८ गते बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा विहान ११ बजे पुस्तकमाथि परिचर्चा गरिने भएको हो । नेकपा माओवादी केन्द्रका सचिव तथा माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाडौं बाहिर झापामै पहिलोपटक परिचर्चा गर्न लागिएको छ । झापामा हुन गइरहेको पुस्तक परिचर्चाको टिप्पणीकर्ता प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईं रहेका छन् ।

यो पुस्तक मुलतः विभिन्न समयमा उनले लेखेका लेखहरु र दिएका प्रवचनहरुलाई परिमार्जन गरेर तयार पारिएको छ । लेखमा करीब १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको जम्मा २६३ पेजको पुस्तकमा भूमिका बाहेक ३३ वटा लेखहरु छन् । यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन् ।

पुस्तक समग्रमा माक्र्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठनिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष र त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ । पुस्तक पढ्दा उनमा माक्र्सवाद, समाजवाद, पुँजीवादको विनाश र मुक्त मानव सम्भव छ भन्नेमा पूर्ण र अटल विश्वास पाइन्छ ।