झापा ।

बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित विकल्प समता, समाजवाद र मुक्त दुनियाँ पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै गएको बताएका छन् ।

बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले राम कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन र नयाँ वैचारिकीका निम्ति रिफ्रेन्सको रूपमा काम गर्ने बताए । समाजमा विचारलाई मर्न नदिन र विचार अनि सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको लेखक कार्कीले बताए ।

नेकपा माओवादी केन्द्रका सचिव तथा माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाडौं बाहिर झापामै पहिलोपटक परिचर्चा गरिएको हो । 

करीब १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको जम्मा २६३ पेजको पुस्तकमा भूमिका बाहेक ३३ वटा लेखहरु छन् । यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन् ।

पुस्तक समग्रमा माक्र्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठनिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष र त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ ।