बिर्तामोड । 

साहित्य चौतारी  झापाले आगामी कात्तिक २८ गते दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ । साहित्य चौतारी  झापाले  विगतका वर्षहरुमा झैं यस वर्ष आगामी कात्तिक २८ गते मंगलबार गोवद्र्धन पूजाका दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)मा दक्षिणारहित सामुहिक सडक देउसी खेलिने भएको  साहित्य चौतारी  झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । 

साहित्य चौतारी  झापाको २५ औं रजत वर्ष उत्सवको अवसरमा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती ,नेपाल सम्वत ११४४ र म्ह् पूजा र तिहार विशेष शुभकामना आदानप्रदानसहित  दक्षिणारहित सामुहिक सडक देउसी खेलिने उनले बताए ।

 दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत ,भाषा, संस्कृति, परम्परासहित पूवर्ज(अग्रज)हरुको परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै युवा तथा भावी पुस्तालाई  पुस्तान्तरण गर्दै निरन्तरता दिने उद्देश्यले २०५८ सालदेखि दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको उनले जानकारी दिए ।

बिर्तामोडको मुक्तिचोकस्थित  दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)बाट नेपाली मौलिक भेषभूषा र वाजागाजा र ब्यानरसहित बिहान ११ बजे शुरु गरिने सडक देउसीसहितको र्यालीले  देउसी भट्याउँदै बिर्तामोड नगर परिक्रमा गर्दै  पुनः  दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण) मा आशिष दिँदै समापन गरिने उनले बताए । 

 आगामी कात्तिक २८ गते मंगलबार गोवद्र्धन पूजाका दिन हुने दक्षिणारहित सामुहिक सडक  देउसीमा राष्ट्रिय पोशाक तथा आ आफ्नो जातिय पोशाक मा सहभागी हुन स्रष्टा सर्जक, बिर्तामोडका सामाजिक संघसंस्था र बिर्तामोडवासीलाई उनले आग्रह गरेका छन् ।दक्षिणारहित सामुहिक सडक  देउसी कार्यक्रमको संयोजकको रुपमा संस्थाका सल्लाहकार कृष्ण पौडेल रहेका छन् ।