बिर्तामोड । 

साहित्य चौतारी  झापाले दक्षिणारहित सामुहिक सडक देउसी खेलेको छ । साहित्य चौतारी  झापाले  विगतका वर्षहरुझैं यसवर्ष पनि मंगलबार (आज) गोवद्र्धन पूजा अवसर पारेर बिर्तामोडमा सडक देउसी कार्यक्रम आयोजना गरेको हो । 

बिर्तामोडस्थित मुक्तिचोकको दुर्गा मन्दिरबाट दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । 

साहित्य चौतारी  झापाको २५ औं रजत वर्ष उत्सवको अवसरमा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती, नेपाल सम्वत ११४४ र म्हः पूजा र तिहार विशेष शुभकामना आदान–प्रदानसहित  दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको छ । 

दक्षिणाकै लागि देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत, भाषा, संस्कृति, परम्परासहित पूवर्ज तथा अग्रजहरुको परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै युवा तथा भावी पुस्तालाई  पुस्तान्तरण गर्दै निरन्तरता दिने उद्देश्यले २०५८ सालदेखि दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको श्रेष्ठले जानकारी दिए ।

sahitya

बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिरबाट नेपाली मौलिक भेषभूषा, वाजागाजा र ब्यानरसहित सडक देउसीसहितको र्यालीले देउसी भट्याउँदै बिर्तामोड बजार परिक्रममा गरेको थियो ।  सडक देउसीमा राष्ट्रिय पोशाक तथा आ–आफ्नो जातिय पोशाकसहित बिर्तामोडका बिभिन्न जातीय संघ÷संस्था तथा स्थानीय, स्रष्टा सर्जकको सहभागीता रहेको थियो । 

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको देउसी कार्यक्रमको संयोजकको रुपमा संस्थाका सल्लाहकार कृष्ण पौडेल रहेका थिए । संस्थापक संरक्षक श्रेष्ठलगायतले स्वागत गीत गाएर आगन्तुक अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा बरिष्ठ संगितकार सरोज ओलीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा बरिष्ठ साहित्यकार जीवन अधिकारी, शिक्षा मन्त्रालयकी शाखा अधिकृत जानुका गुरागाई, जिल्ला प्रकाशन कार्यालय झापाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतसमेत सहभागीता रहेको थियो ।