भद्रपुर। 

अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । आगामी मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई हप्ताभन्दा लामो समयसम्म चल्ने प्रतियोगिताको नाम ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ हुने भएको छ ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगसँग जोडिन पाउँदा आफूलाई गौरव लागेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । भद्रपुरको पुरानो शाखलाई फर्काउन फुटबलले भूमिका खेल्ने आफूले विश्वास लिएको पोखरेलको भनाइ छ । त्यसका लागि प्रतियोगितालाई सहयोग गरेको उनले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको छ । भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम सकिएको छ ।