बिर्तामोड । 

झापाको बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा शुरु गरिएको हो ।

शनिबार बाहेक हरेक दिन दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिए । उनले स्त्री तथा प्रसुती रोग सम्बन्धीका सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताए।

नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिए। नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य विमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा छ ।

त्यसैगरी सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवासमेत उपलब्ध छन् । नगरअस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भईरहेको छ । नगरअस्पताल सुविधासम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजि अस्पतालमा गएर महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।