भद्रपुर । 

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको शुक्रवार (आज) को खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको छ ।

खेलको १९ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गरे । त्यस्तै, खेलको ८१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरे । कनकाईका सलिन कार्कीले ८३ औँ सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुंगियो । खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता मालपोत अधिकृत राजु दाहालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।