भद्रपुर । 

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् ।आज भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै कमल र झापाले तीनतीन अंक जोडेका छन् ।खेलको ११ औँ मिनेटमा कमल गाउँपालिकाका नरबहादुर मगरले गोल गरे । त्यस्तै, खेलको ५९ औँ मिनेटमा युनिस मगरले अर्को गोल गरे । दमकका सञ्जय धिमालले ७२ औँ सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले नगद दुई हजार र ट्रफी प्रदान गरे । यसैबीच, आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । जारी लिगमा यो नै ठुलो गोल अन्तरको जित हो ।

झापा गाउँपालिकाको तर्फबाट खेलको १९ औँ मिनेटमा मर्गुस किस्कू, ३२ औँ मिनेटमा कप्तान मिलन ताम्ली र ५४ औँ मिनेटमा किरण लिम्बूले गोल गरे । खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली र सौजन्यकर्ता रविन्द्र बस्नेतले नगद दुई हजार र ट्रफी प्रदान गरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।