काँकरभिट्टा । 

भारतको हैद्रावादमा हुन गइरहेको १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिपमा भाग लिन नेपालबाट ४५ खेलाडीसहित ६ जना अन्तराष्ट्रिय रेफ्री त्यसतर्फ प्रस्थान गर्दैछन् । हैद्रावाद स्थित लालबहादुर शास्त्री इन्डोर स्टेडीयममा आगामी पुस २ गतेदेखि ५ गतेसम्म हुने स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा भाग लिन नेपालबाट १५ जना महिलासहित ४५ खेलाडी र ६ जना रेफ्री त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएशनबाट ४५ जनामध्ये झापाबाट ३ जना खेलाडी र १ जना अन्तराष्ट्रिय रेफ्री यही मंसिर ३० गते भारतको बागढुग्रा एयरपोर्ट हुँदै हैद्राबाद जाने कार्यक्रम तय भएको विश्वकपमा सहभागी हुने अन्तराष्ट्रिय रेफ्री अर्जुन क्षेत्री लम्सालले जानकारी दिए ।

झापाबाट छनोट भएका खेलाडीहरुमा प्रशिद्वभक्त लावट, मेनुका पौडेल र सोनी दास तथा अन्तराष्ट्रिय रेफ्रीमा लम्साल रहेका छन् । तिहारअघि नेपालगञ्जमा झापासहित देशभरिबाट ४५ खेलाडी तथा ६ जना अन्तराष्ट्रिय रेफ्री छनोट भएका थिए । स्ट्रेन्थ लिफ्टिङ्गमा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहने लम्सालले बताए ।

प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म वजन समुहका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । यसअघि तिर्किस्थानमा भएको ९ आँै स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा नेपालका ३ जना खेलाडीले पदक जितेका थिए ।

त्यसबेला प्रतियोगितामा दीपा विष्टले स्वर्ण र रजत, जीवन गिरीले रजत र केदारमान स्थापितले रजत पदक ल्याएको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएशन झापाका पूर्व अध्यक्ष समेत रहेका लम्सालले जानकारी दिए ।