मैले २०६० सालबाट पत्रकारिता सुरु गरें । निरन्तर आज पनि म पत्रकारिता मै सक्रिय छु । आज भन्दा २० वर्ष अघिको कुरा, जुनवेला अहिले जस्तो पत्रकारिता गर्न सहज थिएन । प्रविधिको विकास थिएन, भएकामा पनि पहुँच थिएन । कम्प्युटर र इन्टरनेटको पहुँज नभएका कारण पत्रकारिता गर्न निक्कै अप्ठेरो परिस्थिति थियो । म धरानबाट प्रकाशित हुँदै आएको त्यसबेलाको लोकप्रिय पत्रिकाको रुपमा पूर्वमा चिनिएको ‘ब्लाष्ट टाइम्स दैनिक’ को बिर्तामोड शाखाबाट पत्रिका बितरकको रुपमा काम गर्थें । करिब डेढ बर्षजति पत्रिका बितरककै रुपमा मैले काम गरें । प्रविधिको पहुँच नभएका कारण त्यसबेला हातले ‘ए फोर’ साइजको (फोटोकपी) पेपरमा बिज्ञापन वा समाचार लेखेर फ्याक्स गरिन्थ्यो । कुनै समवेदना वा फोटो पत्रिकामा छाप्नु परे पत्रिकाको कार्यालयसम्म आफै जानु पर्थ्यो कि त गाडीमा पठाउनुु पर्थ्यो । भोलिपल्ट पत्रिकासँगै उक्त फोटो लिएर सम्बन्धित ब्यक्तिलाई फिर्ता दिनु पर्ने अवस्था थियो ।  

त्यसताका बिहान धरानबाट गाडीमा पठाइएको पत्रिका बिर्तामोडमा जिम्मा बुझेर इलाम, पाँचथर र ताप्लेजुङ जाने पत्रिका गाडीमा पठाएर अन्य बितरकलाई पत्रिका दिएर वितरण व्यवस्थापनको काम सम्पन्न गर्थें अनि आफ्नो रुटमा पत्रिका बितरण सुरु गर्थें । बिहान १० बजेसम्म साइकलमा पत्रिका बितरण गरेर  घर आएर खाना खाएपछि दिउँसो अफिस गएर पैसा उठाउने कार्य नै मेरो दैनिकी थियो ।

त्यतिबेला करिब डेढ बर्षजति बिर्तामोडका प्रत्येक गल्लीमा पत्रिका बितरण र पैसा उठाउने काम गरियो । यसैक्रममा मेरो मेहनतको कदर गर्दै बितरकबाट व्यवस्थापकका रुपमा जिम्मेवारी मिल्यो ।

व्यवस्थापकको जिम्वेवारी सम्हाल्दै एउटा/ दुईटा समाचार लेख्न शुरु गरें । त्यसबेला पत्रिकामा आफूले लेखेको समाचारमा आफ्नो नाम छापिदा निकै खुसी लाग्थ्यो । बिर्तामोडबाट प्रकाशन हुने पूर्वको अर्को लोकप्रिय पत्रिका पूर्वाञ्चल दैनिकमा पनि सानातिना समाचार लेख्ने गर्दथे । उक्त पत्रिकामा समाचारको अन्तिममा मेरो नाम राखेर समाचार प्रकाशन हुन्थ्यो । आफ्नो नाम प्रकाशन हुँदा निकै खुसीको महसुस हुन्थ्यो । अझ समाचारमा आफ्नो नाम छापिएको छ भने अझ धेरै समाचार खोज्ने लेख्ने प्रेरणा जागेर आउथ्यो ।

यसैक्रममा वितरकहरुको हकहितका लागि झापामा कुनै संगठन थिएन । २०६१ सालतिर वितरणको हकहितका लागि संगठन चाहिन्छ भन्ने महसुस गरेर झापामा पहिलो पटक वितरक संघ गठन गरियो ।

वितरक संघको पहिलो समितिको अध्यक्षमा पारस तिम्सिना (स्व.), उपाध्यक्षमा पुष्प बराल र म सचिवको भूमिकामा थिएँ । कुनैपनि वितरकमाथि हुने शोषण, दमन विरुद्ध आवाज उठाउने वितरक संघको मुख्य उद्देश्य थियो । सांगठनिक रुपमा हामीले पनि वितरकहरुको हकहितका लागि कार्य गर्न शुरु गरिसकेका थियौं । सोही क्रममा पारस तिम्सिना माओवादीमा लागेर हराएपछि पुष्प बराल र मैले नै वितरक संघको कार्यसम्पादन गर्यौं । करिव २ बर्षपछि पारस सम्पर्कमा आए । उनी र म वीच छलफल भयो । छलफलको निष्कर्षपछि पारस तिम्सिना हालको प्रेस सेन्टर नेपाल  तथा तत्कालिन क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्ष हुने र म अखिल नेपाल सञ्चार छापाखानाको मेची संयोजकमा रहेर काम गर्ने टुंगोमा पुग्यौं । त्यसै अनुसार हाल अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाको प्रमुख आतिथ्यमा नौ सदस्य समिति गठन भएको थियो ।

पार्टीका जनवर्गीय संगठनमा नेतृत्व लिनेको कमी भएकै कारण पारसजी क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्षमा रहने र म अखिल नेपाल छापाखाना मजदुर संघको मेची संयोजकमा रहने गरी कार्य बिभाजन गरियो ।

काठमाडौमा पार्टीको घटक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ संघीय परिषद् बैठक थियो । पारसजीले जान नभ्याउने भएपछि उक्त वैठकमा म क्रान्तिकारी पत्रकार संघ झापा र अखिल नेपाल सञ्चार छापाखाना मेची दुवै संगठनको प्रतिनिधित्व गरेर काठमाडौं गएको थिएँ । क्रान्तिकारी पत्रकार संघ झापा र छापाखानाका कर्मचारीका समग्र समस्याका बिषयमा बैठकमा झापाबाट मैले विस्तृत रिपोेर्टिङ गरेको थिए ।

काठमाडौंको खन्ना गार्मेन्टमा भएको दुई दिने बैठकमा समग्र झापाको पत्रकारिता र मेचीका छापाखाना मजदुरका समस्या र समाधानका बिषयमा छलफलसमेत गरिएको थियो । त्यसवेला माओवादी शान्ति प्रक्रियामा नआइसकेको अवस्था भएकाले हामीले भूमिगत रुपमै कार्य सुरु गरिसकेका थियौं । त्यस समयमा माओवादी भनेपछि आतंककारी घोषित गरेर राज्यले सिधै गोलीसम्म ठोक्ने आदेश तथा नियन्त्रण गर्ने अवस्था थियो । धेरै जोगिएर मात्र संगठनहरुमा कार्यसम्पादन गर्नु पर्ने अवस्था थियो ।

त्यस समय माओवादीको मुखपत्र जनबिद्रोह पत्रिका लिएर दयाराम दाहाल (शुलभ) बिर्तामोड आउँथे । केही समयको अन्तरालमा सोहीक्रममा उनीसँग मेरो दैनिक भेट हुन थाल्यो । उनीसँग कुरा गर्दा माओवादी शोषित पीडितको हक अधिकारको लागि जनयुद्ध गरिरहेको भन्ने कुराले मलाई पनि प्रभावित बनायो । त्यस समयदेखि नै म सांगठानिक रुपमा अझ प्रतिवद्ध बन्न पुगे ।

पारसपछि दयाराम दाहाल क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्ष भए । म भने अखिल सञ्चार छापाखानाकै जिम्मेवारीमा रहें । दयाराम अध्यक्ष भएको बेला राज्यपक्षबाट हामी माथि हुने आक्रमणका घटनाहरु वढिरहेका थिए । त्यसकारण हामीले जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा गरी पाउँ भनेर ज्ञापनपत्रसमेत बुझाएका थियौं ।

२०६२ पछि माओवादी शान्ति प्रक्रियामा आयो । केही समयपछि नेपाल पत्रकार महासंघ झापाको निर्वाचन भयो । तारामणि सापकोटाले प्रेस चौतारी झापाको निर्णयविरुद्ध बागी उम्मेद्वारी दिएर मोहनकाजी न्यौपानेसँग पराजय भए । सापकोटालाई बागी उम्मेद्वारी दिएको भन्दै चौतारीले कारवाही गर्ने कुरा गर्दागर्दै क्रान्तिकारी पत्रकार संघमा आए । क्रान्तिकारी पत्रकार संघ झापामा नेतृत्व गर्न सक्ने पत्रकारको कमी महसुस गरेर तत्कालिन पार्टीसँगको छलफलपछि सापकोटालाई क्रान्तिकारी पत्रकार संघ झापाको अध्यक्षको जिम्मेवारी दिइएको थियो । तारामणिकै कार्यकालदेखि म पनि अखिल नेपाल सञ्चार छापाखानाको जिम्मेवारी झापाली बिर्खे भन्ने साथीलाई दिएर क्रान्तिकारी पत्रकार संघ झापाको कार्यसमिति सदस्य भएँ ।

सापकोटा अध्यक्ष भएपछि अझ संगठन बिस्तारलाई व्यापक बनाइयो । सापकोटाकै अगुवाईमा झापामा स्व.देबकुमार आचार्य अर्थात डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको स्थापना भयो । प्रत्येक बर्ष उक्त पुरस्कार एक जना पत्रकारलाई बितरण गर्न थालियो । उक्त पुरस्कार वितरण कार्यलाई संगठनले निरन्तरता दिदै आएको छ ।

सोही क्रममा क्रान्तिकारी पत्रकार संगठन हालको प्रेस सेन्टरमा मैले पनि कोषाध्यक्ष, सह–सचिव र सचिवको जिम्मेवारी पूरा गरें । निवर्तमान सचिव छु अहिले । तर संगठनको कुनै जिम्मेवारीमा नरहेको पनि जानकारी गराउन चाहन्छु  । समय दिन नसक्ने भएकाले पनि मैले संगठनको कुनै जिम्मवारी लिन नचाहेको हूँ । 

ज्यानको बाजी थापेर निर्माण गरिएको तत्कालिन क्रान्तिकारी पत्रकार संघ हाल प्रेस सेन्टरमा धेरै नेतृत्व आए, गए । तर, मेरो निरन्तरता अझैपनि रहिरहेको छ । काम गर्नलाई पद र जिम्मेवारी नै चाहिन्छ भन्ने मलाई लाग्दैन । पछिल्लो समय संगठन स्थापनापछि जन्मिएका मित्र तथा भाइहरु पनि संगठनमा आवद्ध छन्, नेतृत्वमा पुगेका छन् । तर, संगठन स्थापना भयो त्यसपछि आउनेहरुलाई थाह छैन ।

पहिलो अध्यक्ष पारस तिम्सिना भन्नु भन्दा पहिले संगठन कसरी स्थापना भयो भन्न सक्ने अवस्था अहिलेसम्म देखिएको छैन ।  धेरै संघर्षपछि स्थापना भएको क्रान्तिकारी पत्रकार संघ हाल प्रेस सेन्टर नेपाल झापामा नेतृत्वका लागि तछाड–मछाड गर्नेको कमी छैन ।

तर, संगठनका गतिविधिलाई चुस्त दुरुस्त गर्न अझैपनि सकिएको खासै देखिदैन । कुनैपनि पार्टी होस् या संगठन होस् स्थापना गर्न ठूलो संघर्ष हुन्छ । तत्कालिन क्रान्तिकारी पत्रकार संघमा धेरै नेतृत्व आए, गए तर त्यस बिषयमा खोज अनुसन्धान गरेनन् । जो नेतृत्वमा आए आफ्नो स्वार्थ पूरा गर्न आए जस्तो मात्र देखियो । कसैलाई पत्रकार महासंघको नेतृत्वमा जानु थियो त कसैलाई संगठन भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नु मात्र देखियो ।

जसरी पार्टी दह्रो हुँदा सांगठानिक संरचना दह्रो थियो, संगठनमा सदस्यता लिनेको लर्को थियो । अहिले पार्टी कमजोर हुँदै जाँदा संगठन पनि कमजोर हुने अवस्था छ । त्यसलाई बलियो बनाउन आवश्यक छ । तर, त्यसलाई चलायमान बनाउन भन्दा पनि नेतृत्व पक्षले आफू मात्र दह्रो बन्ने, आफू अनुकूल संगठन चलाउने, स्वार्थ पूर्तिका लागि संगठनको प्रयोग गर्ने प्रयास गरेकोे देखिन्छ । संगठनको सदस्य बढाउने नाममा जसलाई पायो त्यसलाई सदस्यता दिएर संगठनको गरिमा गिराउने कार्यले पनि संगठन अझ कमजोर हुँदै गएको छ । त्यसलाई अहिलेको संगठनको नेतृत्वपक्षले संगठनलाई चलायमान बनाउँदै संगठनका गतिविधिलाई ब्यापक बनाउन आवश्यक छ ।

कम्युनिष्ट बिचारधाराका जनबर्गीय संघ संगठनमा राम्रा राम्रा बिषयमा छलफल र निर्णय हुने गर्छ । तर, त्यसको कार्यन्वयनमा समस्या हुने गरेको छ । छलफल धेरैको गर्ने निर्णय एउटाको गरेर त्यसलाई पूरा गर्नुपर्छ ।

यो लेख तयार गर्नुको मुख्य उदेश्य भनेको तत्कालीन क्रान्तिकारी पत्रकार संघ हालको प्रेस सेन्टर नेपाल झापामा कसरी स्थापना भएको थियो । अहिले संगठनमा आवद्ध नयाँ धेरै साथीहरुलाई थाहा छैन तथा नहुन पनि सक्छ त्यसबारे जानकारी दिन पनि हो ।

बिर्तामोडबाट १७ बर्ष ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत म कोरोना महामारीसँगै छापा सञ्चार संस्था तहसनहसको अवस्थामा पुगेपछि समय अनुसारको पत्रकारिता शुरु नगरे पत्रकारिताबाट पलायन हुने महसुस गरेर मैले एउटा टिम तयार गरें । जुन टिमसँगको छलफल र सहकार्यपछि समायानुकूल डिजिटल मिडिया सञ्चालन सुरु गरें । ३ बर्षअघि शुरु भएको डिजिटल पत्रकारिता धेरैको साथ सहयोग र मायाका कारण राम्रैसंग सञ्चालन गरिरहेको छु ।  

पत्रिका वितरकबाट शुरु भएको मेरो पत्रकारिता अहिले समायानुकूल डिजिटल पत्रिका शब्दपत्र प्रकाशन प्रा.(लि.)द्धारा सञ्चालित शब्दपत्र डटकमको सञ्चालक तथा सम्पादकको रुपमा पत्रकारितालाई निरन्तरता दिदै आएको छु । अहिलेको पत्रकारिता त्यतिबेला जस्तो आज लेखेको समाचार भोलि पत्रिकामा छापिने अवस्था छैन । प्रविधिको सहजता र प्रयोगसँगै अहिले जतिखेर समाचार तयार हुन्छ त्यतिबेलै मिडियामा प्रकाशन गर्न सकिने अवस्थाको विकास भएको छ । त्यतिवेला पत्रिका, रेडियो, टीभीमा मात्र सीमित पत्रकारिता अहिले मल्टिमिडियामा परिणत भएको छ । सवैको हात–हातमा भएको मोवाइल फोनमा छिनभरमा पढ्न, हेर्न र सुन्न सक्ने अवस्थाको विकास भएको छ । जुनबेलाको पत्रकारिता धेरै दुःख कष्टको थियो तर, अहिले धेरै सहज र सरल बनेको छ ।