बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मूख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि उनको परिवारलाई कर्जा मिनाहा गरिएको हो । 

संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उनकी श्रीमती अर्पणा थापा मगरलाई आज (मंगलबार) एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बताए । 

तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा पनि भन्दै संस्थाले ९ महिना अघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए । 

कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च वापत कार्यालयबाट १३ हजार १०० रुपैयाँ पनि उपलब्ध गराइएको बताइएको छ । कर्जा लिएको ९ महिनापछि २०८२ माघ २१ गतेउनको असामहिक निधन भएको थियो ।

कर्जा मिनाहासँगै सदस्यको निधनप्रति संस्थाले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली समेत अर्पण गरेको छ । मृतकले एक लाख ५० हजार रुपैयाँ संस्थाबाट ऋण लिएका थिए ।