शनिश्चरे । 

कृषि क्षेत्रको विकास र विस्तारलाई मध्यनगर गरी २ बर्ष अघि स्थापना भएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले बार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।  झापाको अर्जुनधारा–८ मा मुख्य कार्यालय रहेको संस्थाले अर्जुनधारा–८ स्थित शनिश्चरेमा सोमवार (आज) दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

 संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा उप–सधामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सञ्चालक समिति सदस्य देवकला प्रसाईले गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गरेका थिए । 

सोही कार्यक्रमकाबिच संस्थाले उत्कृष्ट कृषकका रुपमा अर्जुनधारा १ का लोकनाथ वाग्ले, अर्जुनधारा–७ का राजेन्द्रप्रसाद निरौला र अर्जुनधारा–४ का देवप्रकाश घिमिरेलाई नगदसहित सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि रानामगर, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाललगायतले सम्मान गरेका थिए । 

आर्थिक बर्ष २०७९/०८० सम्ममा एक हजार ७३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३८ लाख २७ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष रानाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष रानाको प्रतिवेदन अनुसार निक्षेप संकलन ७ लाख १५ हजार २५१ रुपैयाँ र जगेडा कोष ५ लाख रुपैयाँको रहेको छ । 

arjundhara sahakari

अर्जुनधाराका ११ वटै वडामा उप–समिति, समुह, बिषयगत समिति गठन गरी नगरपालिकाको कृषि शाखासँगको समन्वयमा बिबिध कार्यक्रम गर्दै आएको अध्यक्ष प्रत्युष आजाद रानाले बताएका छन् । कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै ब्यवसायिक र मर्यादित पेशाका रुपमा बिकास गर्न, उत्पादनबृद्धि गरी संकलन, भण्डारण, प्रशोधन र बजारीकरणबाट आर्थिक समृद्धि हासिल गर्ने उदेश्यले संस्थाको स्थापना गरेको अध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरको पशुपंछी विकास शाखा र नेपाल कृषि बजार कार्यक्रम (सहज) बिराटनगरको ५० प्रतिशत आर्थिक साझेदारीमा अर्जुनधारा–६ मा दुग्ध उद्योगको स्थापना भएको छ । 

संस्थाले कृषि उत्पादन अभिमुखीकरण तालिम, धानपकेट कार्यक्रमको निरन्तरता, बीज बृद्धि कार्यक्रम, कृषि प्राविधिक सेवा सञ्चालन, रासायनिक मलको ब्यवस्थापन र उपलब्धता, कृषिका आधारित सरकारी तथा गैरसरकारी निकायसँगको समन्वय, तालिम र गोष्ठीको आयोजना र सहभागीता, कृषि उपज संकलन, भण्डारण र बजारीकरण, कर्मचारी ब्यवस्थापन र परिचालनलगायतका कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष रानाद्धारा प्रस्तत प्रतिवेदनमा उल्लेख छ ।