बिर्तामोड । 

झापाको गरामनीमा रहेको सतासी डिर्पाटमेन्ट स्टोरले म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको थियो । उपभोक्ताले प्रधानमन्त्री कार्यालय उजुरी गरेका थिए ।

प्रधानमन्त्री कार्यालयबाट बिर्तामोड नगरपालिकालाई पत्राचार गरिएपछि प्रहरी, उपभोक्ता संस्था र नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको थियो । स्टोरमा अखाद्य वस्तु भेटिएपछि पसलअगाडि नै सार्वजनिक रुपमा नष्ट गरिएको बिर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए ।

अनुगमनका क्रममा स्टोरभित्र अखाद्य वस्तु, म्याद सकिएका रमपम चाउचाउ भेटिएकोले चेतावनी दिँदै लिखित रुपमा कारबाही अघि बढाइएको छ । टोलीले बिर्तामोडको चन्द्रमा किराना पसल तथा रामेश्वर डेरीमा समेत अनुगमन गरेको र त्यहाँसमेत अखाद्य वस्तु भेटिएको उपभोक्ता हित सरक्षंण मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले जानकारी दिए ।