सुरुङ्गा । 

लैंगिक हिंसा तथा पीडित महिलालाई  झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अभिवृद्धि गर्न रकम प्रदान गरेको छ । लामो समयदेखि परिवारबाटनै हिंसामा परेका नगर भरि रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सन्चालन गर्न नगरले रकम उपलब्ध गराएको हो । 

जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई बुधवार (आज) नगरपालिकामा एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् । 

कनकाई ९ कि रचना प्रसाईं बिगत ९ वर्षदेखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्ध बिच्छेद गरि झोला बनाउने काम गर्दै आएकी थिइन् । उक्त पेशाबाट दुई छोरीलाई शिक्षासहित पालनपोषण गर्दै आएकी उनले नगरबाट प्राप्त  ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने बताएकी छिन् ।  त्यस्तै कनकाई ९ कै कमला भुसालले पनि श्रीमानको हिंसा सहन नसकेर पाँच वर्ष अघि सम्बन्ध बिच्छेद गरेर घैलाडुब्बा बजारमा पार्लरको  ब्यवसाय सन्चालन गर्दै आएको बताइन् ।

एक छोराकी आमा समेत रहेकी कमलाले सो व्यवसायबाट दुःखले जीवनयापन गर्दै आएको सुनाइन् । उनलाई पनि नगरले  ३० हजार रुपैयाँ दिएको र उक्त रकमले थप ब्यवसाय बढाउदै लैजाने प्रतिबद्धता जनाइन् । कनकाई –२ की मिना भुजेललाई पनि नगरले ३० हजार रुपैयाँ, कनकाई–३ कि पार्वता विमलीलाई खाध्यान्यका लागि १० हजार, कनकाई–२ कि विना लिम्बुलाई औषधि उपचारका  लागि १० हजार रुपैयाँ, बालकुमारी बजगाईलाई व्यवसायका लागि ३० हजार रुपैयाँ  र कनकाई १  कि सहना माझीलाई औषधि उपचारका  लागि २० हजार रुपैयाँ नगरले उपलब्ध गराएको कार्यक्रम संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् ।

कार्यक्रममा उपप्रमुख  शिवाकोटीले गर्भावस्थादेखि नै महिलाहरुमा हिंसा शुरु हुने गरेको तर्क गरिन् । उनले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।  कार्यक्रममा न्यायीक समिति सदस्य नवलकिश्वर द्त्त, कार्यपालिका सदस्य कृष्णमाया भुजेललगायतले पारिवारिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

नगर उपप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा स्वागत तथा   सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख  खतिवडागरेकी थिइन् । कार्यक्रममा सोही कार्यक्रमकाबिच लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा समेत प्रदान गरिएको थियो ।