सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जिल्ला स्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । 

कनकाई माविको खेल मैदानमा आगामी माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  झापाका १० वटा पालिकाको सहभागीतामा सञ्चालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।

प्रतिष्ठानका तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागीताका लागि आग्रह गरिएको भएपनि केही पालिका सहभागी हुन नसक्ने जानकारी आएपछि यस पटक १० वटा पालिकाको बिचमा प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक मैनाली बताए । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।  प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद  २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको आयोजक संस्थाले जनाएको छ । 

मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४ सय खर्चको अनुमान गरिएको  आयोजक समितिले जनाएको छ ।