झापा । 

नेपाल भलिबल संघले सन् २०२४ मा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको अध्यक्षतामा पोखरामा शुक्रबार बसेको संघको सातौं पूर्ण बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको निर्णय गरेको हो ।

संघले २०२४ अगस्टमा काभा महिला नेसन्स लिग र नोभेम्बरमा काभा पुरुष क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको संघका उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।  उनका अनुसार यसै वर्षको चैत १ देखि १० गतेसम्म आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनयसिपको आयोजना गर्ने निर्णय पनि संघले गरेको छ । त्यस्तै संघले चैतको अन्तिममा एनभिए अवार्ड समारोह आयोजना गर्ने भएको छ ।

अवार्डमा २०७९ साल भर देश र विदेशमा भएका प्रतियोगिताको अध्ययन, नतिजा, संघसँग समन्वयमा गरेको प्रतियोगिताको मुल्याङकन गरि खेलाडी, प्रशिक्षक, संस्थाहरुलाई सम्मान गरिने बताइएको छ । माघ ७ गते भलिबल रेफ्रीहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने र रेफ्री कमिशनलाई पूर्णता दिने पनि संघले निर्णय गरेको छ । चैतमा नै संघको आठौं पूर्ण बैठक मधेश प्रदेशको जनकपुरमा गर्ने संघले निर्णय लिएको छ । बैठकले महासचिव रोशन श्रेष्ठ र कोषाध्यक्ष श्याम श्रेष्ठको प्रतिवेदनलाई छलफलसहित पारित गरेको थियो ।

संघले राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरतबहादुर शाहसहित ३ जनालाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ । सातौं पूर्ण बैठकले शाहसहित युवराज श्रेष्ठ, श्रीराम बोगटीलाई उपाध्यक्षमा मनोनय गरेको हो । त्यस्तै ६ जनालाई सदस्यमा मनोनय गरेको छ । जसमा किशोर आचार्य, छ्यामबहादुर थापा, शैलेन्द्र्र शार्म, डम्बरबहादुर लिम्बु, रामशंकर चौधरी र निलम बज्राचार्य छन् । गत वर्ष संघको नयाँ कार्यसमिति चयन भएको थियो । सोही बैठकले पूर्व कप्तान रेशमबहादुर गुरुङ सल्लाहकार मनोनित गरेको छ ।