अर्जुनधारा । 

पूर्वको झापास्थित अर्जुनधारा नगरपालिकाको बहुधार्मिक आस्थाको केन्द्रबिन्दुका रुपमा रहेको ‘जलकन्या धाम’ मा श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल सप्ताह महायज्ञ हुने भएको छ । 

अर्जुनधारा नगरपालिका वडा नम्बर १० चुथाईस्थित जलकन्या देवी मन्दिरमा माघ ११ देखि १८ गतेसम्म महायज्ञको आयोजना गर्न लागिएको हो । जलकन्या धाममा जलकन्या मन्दिर, गंगेश्वर शिवालय मन्दिर, जलशाय, साथै विश्वमै दुर्लभ मानिएका रुख विरुवाहरु रहेको स्थानीयहरुको भनाई छ । 

धामलाई सवै धर्मको साझा केन्द्रको रुपमा स्थापित गर्दै धामका अधुरा योजनाहरु पूरा गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिले मंगलबार (आज) धाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

महायज्ञबाट संकलित रकमबाट भगवान गौतमबुद्धको प्रतिमा स्थापना, धाम परिसर क्षेत्रको घेराबारा, जलशाय तथा दुर्लभ बृक्षहरुको संरक्षण साथै भौतिक संरचनाको निर्माणलगायतका कार्य गरिने आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए । 

महायज्ञमा प्रमुख कथा बाचकका रुपमा आचार्य पण्डित अर्जुन भट्टराई रहने छन् भने संगीतमय कथा वाचकका रुपमा पण्डित रोशन भट्टराई रहने सहजकर्ता तथा युवा समाजसेवी लवकुश गौतमले बताए । करिव एक बिगाहा एक कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको उक्त धामलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको गौतमले बताए । 

jalkanya 1

महायज्ञबाट करिव ५० लाख रुपैयाँ आम्दानी गरी १० लाख रुपैयाँ खर्च गरेर रहेको बाँकि रकमबाट मन्दिर ब्यवस्थापनको लागि ३० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना रहेको आयोजकले जनाएको छ । 

मुल आयोजक समितिका संयोजक  चन्द्रशेखर दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सह–संयोजक कृष्णप्रसाद चापागाईले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा धामका अध्यक्ष बखतबहादुर कटुवाल, आयोजक समितिका सदस्य लक्ष्मण अधिकारीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश भट्टराईले गरेका थिए ।

महायज्ञको श्री स्वस्थानी ब्रतकथा शुभराम्भको अवसर पारेर कलशयात्रा तथा शोभयात्रा गरेर उद्घाटन गरिने आयोजकले जनाएको छ । महायज्ञमा सन्ध्या आरती, ज्ञानमञ्च, भजन कीर्तन, महात्म्य कथा, झाँकी प्रदर्शनसहित दाता सम्मान गरिने बताइएको छ ।